सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने : मन्त्री शर्मा

0 Shares

काडमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा अघि बढ्ने विश्वास व्यक्त गरिन् । उनले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरेकी थिइन् ।

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिँदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

शिक्षा र स्वास्थ्य सेवालाई डिजिटलाइसेन गरेर ग्रामीण क्षेत्रमा टेलिमेडिसिन र इलर्निङ प्लेटफर्मको विकास गर्न सकियो भने सेवा प्रवाहलाई गति दिन सकिने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि डिजिटल पूर्वाधारको विकासमा जोड दिइएको बताइन् ।

उनले पछिल्लो समय राष्ट्रिय साइबर सुरक्षा स्थापना गर्नेदेखि एकीकृत सरकारी डाटा सुरक्षा केन्द्र व्यवस्थित गर्दै लैजाने कार्य अघि बढाएको जानकारी दिँदै यसका लागि जनशक्तिलाई थप प्रशिक्षित गर्ने सवालमा भारतले सहयोग गर्न सक्ने बताएकी थिइन् ।

राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताए ।

सम्बन्धित समाचार