सामसङ र एनसेलबीच साझेदारी, २जी मोबाइल साटेर फोरजी चलाउन ५ हजार छुट

0 Shares

काठमाडौं । सामसङ नेपाल र एनसेलले नेपालमा एआई प्रविधिसहितका स्मार्टफोनको पहुँच विस्तार गर्ने, पुराना २जी मोबाइल प्रयोगकर्तालाई फोरजीमा ल्याउने र मोबाइल खरिदलाई सहज बनाउने उद्देश्यले साझेदारी गरेका छन्। दुई कम्पनीले मध्यम तथा दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्।

साझेदारीअन्तर्गत सामसङका विभिन्न मोडलका स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेलको डेटा तथा भ्वाइस प्याक निःशुल्क पाउनेछन्। त्यस्तै, पुरानो २जी मोबाइल बुझाएर सामसङको फोरजी स्मार्टफोन खरिद गर्दा ५ हजार रुपैयाँसम्म छुट, २४ देखि ३६ महिनासम्म किस्ताबन्दी र पुराना मोबाइलको जिम्मेवार व्यवस्थापन गर्ने सुविधा ल्याइएको छ।

सामसङले एआई सुविधा महँगा फ्ल्यागसिप फोनमा मात्र सीमित नराखी ग्यालेक्सी ए सिरिजका तुलनात्मक रूपमा सस्ता मोडलमा समेत विस्तार गर्ने जनाएको छ। यसअन्तर्गत ग्यालेक्सी जेड र एस सिरिजका छनोट गरिएका मोडल खरिद गर्ने ग्राहकले १२ महिनासम्म प्रतिमहिना ७९९ रुपैयाँ मूल्यको एनसेल प्याक निःशुल्क पाउनेछन्। उक्त प्याकमा अनलिमिटेड डेटा तथा भ्वाइस, लायन्सगेट र दैनिक १०० एसएमएस सुविधा समावेश छ।

त्यस्तै, ग्यालेक्सी ए१७, एम१७ र ए०७एस खरिद गर्ने ग्राहकले नौ महिनासम्म प्रतिमहिना ४४९ रुपैयाँ मूल्यको प्याक निःशुल्क पाउनेछन्। यस प्याकमा ७ जीबी डेटा र अनलिमिटेड भ्वाइस सुविधा छ। कम्पनीका अनुसार मोडल र ग्राहकको योग्यताका आधारमा सुविधा उपलब्ध हुनेछ।

२जी मोबाइल साट्दा ५ हजार छुट

साझेदारीको अर्को मुख्य कार्यक्रम २जीबाट फोरजीमा स्तरोन्नति अभियान हो। यसअन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि २जी मोबाइल बुझाएर सामसङको फोरजी स्मार्टफोन खरिद गर्दा ५ हजार रुपैयाँको एक्सचेन्ज सुविधा पाउनेछन्। यसमा मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिर्न सकिने विकल्पसमेत राखिएको छ।

नेपालमा अझै २जी मोबाइल प्रयोग गरिरहेका ग्राहकलाई नयाँ प्रविधिमा जोड्ने र डिजिटल सेवाको पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको कम्पनीहरूको भनाइ छ। अभियानमा संकलन गरिएका पुराना मोबाइललाई सामसङले फिर्ता लिएर जिम्मेवार विद्युतीय फोहोर व्यवस्थापन प्रक्रियामार्फत व्यवस्थापन गर्ने जनाएको छ।

३६ महिनासम्म किस्ताबन्दी, १० हजारसम्म एक्सचेन्ज बोनस

स्मार्टफोन खरिदको लागत कम गर्न सामसङले हुलास फिन सर्भिससँगको सहकार्यमा किस्ताबन्दी सुविधा पनि विस्तार गरेको छ। सामसङका स्मार्टफोनमा २४ महिनासम्म र छनोट गरिएका फ्ल्यागसिप मोडलमा ३६ महिनासम्म किस्ताबन्दी सुविधा उपलब्ध हुनेछ। यसका लागि २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ। ३६ महिनाको योजनामा मासिक ५ हजार १०६ रुपैयाँदेखि किस्ता तिर्न सकिने कम्पनीले जनाएको छ।

छनोट गरिएका फ्ल्यागसिप ग्यालेक्सी फोन खरिद गर्दा १० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस र जेड तथा एस सिरिजका योग्य ग्राहकले एक वर्षको अतिरिक्त वारेन्टीसमेत पाउनेछन्। ग्यालेक्सी ए१७, एम१७ र ए०७एसमा भने ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।

मोबाइलको मूल्यांकन अब एपबाट

पुरानो मोबाइल साट्दा त्यसको मूल्य कसरी निर्धारण हुन्छ भन्ने अन्योल हटाउन सामसङले फोनशील्ड नामको एपमा आधारित मूल्यांकन प्रणाली पनि ल्याउने भएको छ। साइफरब्ल्याकको फोनशील्ड र एप्कुडो प्रविधिमा आधारित यस प्रणालीले मोबाइलको बाहिरी अवस्था र काम गर्ने क्षमताको स्वचालित मूल्यांकन गरी साटफेरको मूल्य निर्धारण गर्नेछ।

यसबाट पुरानो मोबाइलको मूल्यांकनमा हुने व्यक्तिपिच्छेको फरक र ग्राहकको अन्योल कम हुने कम्पनीको दाबी छ। यो सेवा सामसङका सेवा केन्द्र र छनोट गरिएका ब्रान्ड स्टोरमा उपलब्ध गराउने तयारी छ।

सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ जुङले एनसेलसँगको सहकार्य सामान्य स्मार्टफोन प्रवर्द्धनमा मात्र सीमित नरहेको बताए। एआई प्रविधि बढी मानिससम्म पुर्‍याउने, २जी प्रयोगकर्तालाई फोरजीमा ल्याउने, महँगा स्मार्टफोनको खरिद सहज बनाउने र पुराना मोबाइलको जिम्मेवार व्यवस्थापन गर्ने दीर्घकालीन योजना रहेको उनको भनाइ छ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्तले सामसङको प्रविधि र एनसेलको नेटवर्कलाई जोडेर एआईसहितका डिजिटल सेवाको पहुँच विस्तार गर्ने उद्देश्य रहेको बताए। विश्वभर एआईको प्रयोग बढ्दै जाँदा त्यसका लागि आवश्यक प्रविधि र भरपर्दो कनेक्टिभिटीको पहुँच पनि महत्त्वपूर्ण हुने उनले उल्लेख गरे।

सामसङले नोभेम्बर २० देखि २३ सम्मका लागि प्रि-अर्डर खुलाउने जनाएको छ। क्यूआर कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले ४ हजार ९९९ रुपैयाँ मूल्यको ग्यालेक्सी बड्स कोर ६२ प्रतिशत छुटमा पाउने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार