पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन माग

0 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताएका छन्।

इन्फ्रास्ट्रक्चर समिट, २०२६को सन्दर्भमा बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर)मा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।

उनले विदेशी कम्पनीसँगको सहकार्यबाट नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने र भविष्यमा ठूला पूर्वाधार परियोजना आफैँ निर्माण गर्न सक्ने अवस्था बन्ने बताए।

अध्यक्ष श्रेष्ठले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै त्यहाँ भारतीय निर्माण कम्पनीलाई विदेशी कम्पनीसँग संयुक्त रूपमा काम गर्ने अवसर दिइएकाले अहिले भारतीय कम्पनीहरू आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको बताए।

त्यस्तै, नेपालमा सुरुङ निर्माणका क्षेत्रमा पनि विदेशी कम्पनीसँगको सहकार्यले नेपाली इन्जिनियरको क्षमता विकासमा सहयोग पुगेको उनले बताए।

अध्यक्ष श्रेष्ठले नेपालको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता बढाउन पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताएका छन्। भन्सारमा सामान छुटाउन लाग्ने समयदेखि पूर्वदेखि पश्चिमसम्मको यात्रा अवधिसम्मले राष्ट्रिय अर्थतन्त्रको प्रभावकारिता निर्धारण गर्ने उनको भनाइ छ।

नेपालमा पूर्वाधार कमजोर हुँदा व्यवसायको लागत बढ्ने र प्रतिष्पर्धात्मक क्षमता प्रभावित हुने श्रेष्ठले बताए।

‘नेपालको आर्थिक विकास र व्यावसायिक प्रतिस्पर्धात्मकता बढाउन पूर्वाधार विकास अपरिहार्य छ। भन्सार प्रक्रिया होस् वा देशको एक भूभागबाट अर्को भूभागसम्मको यात्रा, समय र लागत घटाउन आवश्यक छ’, उनले भने।

यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघले गर्दै आएको सम्मेलनलाई सरकारको समेत अग्रसरतामा अघि बढाउनु सकारात्मक भएको श्रेष्ठले बताए।

सम्बन्धित समाचार