फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

0 Shares

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।

Together Towards Greener Future नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ ।

भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखाउँछ । कम्पनीका अनुसार फोटोन TM1 विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छ ।

एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW VridhiCommercial Vehicles Pvt.Ltd.) का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले भने, “भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । १४ वटा फोटोन TM1 विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यवसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो । नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।

त्यसैगरी, कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए । उनेले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताए ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ । सञ्चालन खर्च न्यूनीकरण र वातावरणीय प्रभाव कम गर्न विद्युतीय व्यावसायिक सवारीसाधन प्रभावकारी विकल्प बन्दै गएका छन् ।

यस हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपालको विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । साथै, नेपाली व्यवसायलाई आवश्यक आधुनिक, भरपर्दो र वातावरणमैत्री यातायात समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

सम्बन्धित समाचार