एजेन्सी । भारतीय सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले इटालीको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी इभेको (Iveco) ग्रुपको ८९.४२ प्रतिशत शेयर अधिग्रहण गरेको छ। कम्पनीले करिब ३ अर्ब ४३ करोड युरोमा इभेकोको शेयर खरिद गरेको हो।
शुक्रबार प्रारम्भिक शेयर हस्तान्तरण प्रक्रिया पूरा भएसँगै इभेको टाटा मोटर्सको सहायक कम्पनी बनेको छ। यो अधिग्रहण सन् २००८ मा फोर्डबाट जगुआर ल्यान्ड रोभर (जेएलआर) खरिद गरेयता टाटा मोटर्सको सबैभन्दा ठूलो अधिग्रहण हो।
संयुक्त विज्ञप्ति अनुसार टाटा मोटर्सको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी टीएमएल सीभी होल्डिङ्स बीभीले इभेकोका २३ करोड ८१ लाख ५७ हजार २१२ कित्ता साधारण शेयर खरिद गरेको हो। यो कम्पनीको ट्रेजरी शेयरबाहेक कुल साधारण शेयरको ८९.४२ प्रतिशत हो।
टाटा मोटर्सले इभेकोको प्रतिकित्ता शेयर १४.४० युरोका दरले नगद भुक्तानी गर्ने प्रस्ताव गरेको थियो। सुरुमा प्रतिकित्ता १४.१० युरो प्रस्ताव गरिएकोमा अक्टोबर ९ मा मूल्य ०.३० युरोले बढाइएको थियो। लाभांशसमेत समावेश गरी तय गरिएको उक्त प्रस्तावको स्वीकृति अवधि पूरा भएपछि प्रारम्भिक शेयर हस्तान्तरण भएको हो।
यद्यपि, अधिग्रहण प्रक्रिया अझै पूर्ण रूपमा सकिएको छैन। नोभेम्बर २ देखि ६ सम्म थप पाँच कारोबार दिनका लागि शेयर बिक्री प्रस्ताव पुनः खुला गरिनेछ। यस अवधिमा शेयर बिक्री गर्ने लगानीकर्ताको शेयरको भुक्तानी नोभेम्बर १३ मा गरिने तालिका छ।
अधिग्रहणसँगै टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन इभेकोको अध्यक्ष तथा वरिष्ठ सञ्चालक नियुक्त भएका छन्। ओलोफ पर्सन भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा निरन्तर रहनेछन्।
कम्पनीले बाँकी अधिग्रहण प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे पनि जानकारी दिने जनाएको छ। यसमा स्वैच्छिक खरिद प्रक्रिया, नेदरल्यान्ड्सको कानुनअनुसार अल्पमत शेयरधनीलाई बाहिर्याउने प्रक्रिया (स्क्विज आउट) वा प्रस्तावपछिको कम्पनी विभाजन तथा खारेजीका विकल्प समावेश छन्।
टाटा मोटर्सले सन् २०२५ मा इभेकोको रक्षा व्यवसायबाहेक अन्य व्यवसाय अधिग्रहण गर्ने योजना सार्वजनिक गरेको थियो। उक्त कारोबारको मूल्य करिब ३ अर्ब ८० करोड युरो (करिब ३ खर्ब ८२ अर्ब ४० करोड भारतीय रुपैयाँ) अनुमान गरिएको थियो।
इभेकोले १६ वटा औद्योगिक उत्पादन केन्द्र र २२ वटा अनुसन्धान तथा विकास केन्द्रमार्फत विश्वका विभिन्न बजारमा व्यावसायिक सवारीसाधन उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीमा करिब ३३ हजार कर्मचारी कार्यरत छन्। इभेकोले वार्षिक १४ खर्ब २४ अर्ब ७१ करोड रुपैयाँ बराबरको आम्दानी गरेको अन्तराष्ट्रिय समाचारमा उल्लेख छ।
इभेकोको स्थापित अन्तर्राष्ट्रिय सञ्जाल र उत्पादन पोर्टफोलियोलाई टाटा मोटर्सको व्यवसायसँग एकीकृत गर्दै विश्व बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने कम्पनीको लक्ष्य छ।