अमेरिकासँग हुने नयाँ युद्ध लामो हुन सक्छः इरान

0 Shares

काठमाडौं । अमेरिकासँग आगामी दिनमा हुने युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ । त्यो युद्धको अवधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गर्न नसक्ने इरानको दाबी छ ।

‘सम्भावित भावी युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो हुन सक्छ र अमेरिकी राष्ट्रपति यसको समाप्ति समय वा अवस्था निर्धारण गर्ने स्थितिमा हुनुहुने छैन,’ इरानी राष्ट्रिय टेलिभिजनले इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

उनले फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणबाट सुरु भएको युद्धको सबैभन्दा भयानक चरणको कुरा गर्दै अक्रामिनियाले आगामी युद्ध अमेरिका वा कसैको पनि सहज नियन्त्रणमा नहुने बताए ।

अमेरिका-इजरायलको आक्रमणको सुरूमा इस्लामी गणतन्त्रका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएका थिए । कैयौँ इरानी नेता, सैन्य अधिकारी र बैज्ञानिकसमेतको मृत्यु भएको थियो । बखलामा इरानले खाडी क्षेत्रभर मिसाइल र ड्रोन प्रहार गरेको थियो । उसले समर्थन गर्ने सशस्त्र समूहहरूले पनि लेबनान र यमनमा युद्धमा भाग लिएका थिए ।

इरानका रक्षा मन्त्री मेहरदाद अखलाखीले आइतबार देशमाथिको कुनै पनि आक्रमणको ‘समान, निर्णायक र प्रभावकारी जवाफ’ दिने चेतावनी दिएका छन् । ‘जसले धम्की दिन्छन् उनीहरूले इरानको रक्षात्मक प्रतिक्रियाको दायरा, समय वा परिणाम निर्धारण गर्न सक्ने छैनन्,’ उनले भने ।

यसैगरी आइतबार इरानको सैन्य शक्ति (इस्लामिक रिवोल्युसनरी गार्ड कप्र्स)का प्रवक्ता होसेन मोहेब्बीले नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्ताबा खामेनीले अघिल्लो दिन लिखित सन्देशमा भनेका कुरा दोहोर्याएका छन् ।

खामेनीले जारी गरेको वक्तव्यमा उनले सैन्य कमाण्डरहरूलाई ‘कुनै पनि स्तर वा प्रकारको धम्कीलाई तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित प्रतिक्रिया दिनुपर्छ’ भनेर आदेश दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिका इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर अझै एक-दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी रहेको बताएका थिए ।

सम्बन्धित समाचार