अरनब आँधीको गति १३५ किलोमिटर प्रतिघण्टा: भारतमा विध्वंस मच्चाउँदै, नेपालमा उच्च सतर्कता हुन चेतावनी

0 Shares

काठमाडौं । बंगालकाे खाडीबाट निस्किएको अरनब चक्रवातको गति प्रतिघण्टा १३५ किलोमिटर रहेको छ । भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात ठोक्किँदा यो गति रेकर्ड गरिएको हो ।

यसका कारण आन्ध्र प्रदेशको विशाखापट्टनम, अनकापल्ली, काकीनाडा र कोनासीमामा भारी वर्षा भइरहेको छ । तल्लो क्षेत्रहरूमा बाढीको खतराका कारण हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीका कारण विजयवाडा-विशाखापट्टनम विमानस्थलमा पचास रेल र २१ उडानहरू रद्द गरिएका छन् । आन्ध्र प्रदेश र ओडिशाले चार हजार चक्रवात आश्रयस्थलहरू स्थापना गरेका छन् ।

भारी वर्षाले ओडिशामा जनजीवन प्रभावित भएको छ । १६ जिल्लामा विद्यालयहरू बन्द गरिएका छन् । ३० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीको प्रभाव आन्ध्र प्रदेश र ओडिशामा मात्र सीमित हुने छैन । मौसम विभागले मध्य प्रदेश, महाराष्ट्र, छत्तीसगढ, बिहार, उत्तर प्रदेश, झारखण्ड र तेलंगानालगायत धेरै राज्यहरूमा वर्षाको अलर्ट जारी गरेको छ ।

‘अरनब’को प्रभावले नेपालमा कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

सम्बन्धित समाचार