काठमाडौँ । नरेन्द्र मोदी भारतको तेस्रो पटक प्रधानमन्त्री बन्दैछन् । मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मोदीको शपथ ग्रहण समारोह आज साँझ सवा सात बजे राष्ट्रपति भवनमा हुने छ । शपथ ग्रहण समारोह करिब ४५ मिनेट चल्ने छ ।
प्रधानमन्त्री मोदीले आफ्नो नेतृत्वको सरकारमा को को मन्त्री बनाउनलान भन्ने चर्चा अहिले निकै चलेको छ । प्रधानमन्त्री मोदीको शपथ ग्रहणपछि मन्त्रीहरुले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री मोदीले आफ्नै पार्टी भाजपालाई गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय राखेका छन् । अरु मन्त्रालय अन्य गठबन्धन दललाई दिने चर्चा छ । गठबन्धनका अन्य दलहरुलाई नागरिक उड्डयन, कोइला, इस्पात लगायतका आकर्षक मन्त्रालय जिम्मा दिने तयारी छ ।
सरकार गठनमा निर्णायक भएका नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टीले आकर्षक मन्त्रालय पाउने भनिए पनि भागबण्डा सार्वजनिक भएको छैन । को–को मन्त्री बन्दैछन् भन्ने पनि अहिलेसम्म खुलाइएको छैन ।
सम्भावित मन्त्रीहरुको सूचीमा जितनराम माझी, राजनाथ सिंह, जयन्त चौधरी, अनुप्रिया पटेल, निनित गडकरी, सुदेश महतो, एचडी कुमार स्वामी, प्रह्लाद जोशी, जयन्त चौधरी, राममोहन नायडु, पी चन्द्रशेखर लगायत रहेको भारतीय मिडियाहरुले लेखेका छन् ।
मन्त्री पदको भागबण्डा मिलाउन नेताहरुको बैठक बसेपनि अझै टुंगोमा पुगेको छैन् । यो समाचार तयार पार्दासम्म सहमति जुटेको छैन । सहमति जुटाउने अन्तिम तयारी भइरहेको भारतीय मिडीयाहरुले जनाएका छन् ।