एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह



0 Shares

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे छलफल गरेको छ ।

छलफलका क्रममा नाइमाले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था तथा नियममा ‘वस्तु’को परिभाषा स्पष्ट नभएको विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

एउटै ब्रान्डका विभिन्न मोडेललाई अलग–अलग वस्तु मानी प्रत्येक मोडेलका लागि छुट्टाछुट्टै धरौटी मागिँदा व्यवसायीको ठूलो रकम रोकिएर आर्थिक भार थपिएको नाइमाले जनाएको छ । संघले ‘वस्तु’ को परिभाषा स्पष्ट पार्दै एउटै ब्रान्डका विभिन्न मोडेलका लागि छुट्टाछुट्टै धरौटी लिनुपर्ने व्यवस्था हटाउन आग्रह गरेको छ । यस विषयमा नाइमाले यसअघि पनि मन्त्रालयमा लिखित सुझाव पेस गरिसकेको जनाएको छ ।

ल्ब्क्ष्ःब् का मागप्रति सकारात्मक देखिँदै मन्त्री साहले यसअघि भएका निर्णयको पुनरावलोकन गरी एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउने गरी आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।

मन्त्रालयको सकारात्मक पहलप्रति आभार व्यक्त गर्दै नाइमाले नियम पुनरावलोकनका क्रममा आवश्यक तथ्य, विवरण तथा सुझाव उपलब्ध गराई मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

भेटमा नाइमाका बोर्ड सदस्य निराकार श्रेष्ठ र उदयन काब्रा, रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छा, सदस्य कम्पनीहरू शशिला मोटर्स प्रालि, ओम्नी मोटर्स प्रालि, स्पार्क अटोमोटिभ्स प्रालि र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका प्रतिनिधि तथा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल सहभागी थिए ।

सम्बन्धित समाचार