बाढीपीडितका लागि Uber को ५० लाख सहयोग, ‘राइड फर नेपाल’ अभियान सुरु

0 Shares

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले Uber ले ‘Ride for Nepal’ अभियान सुरु गरेको छ।

सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत Uber ले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोडेको हो। अभियानमा यात्रु र चालक दुवैलाई सहभागी हुन आह्वान गरिएको छ।

अभियानअन्तर्गत Uber ले नेपाल रेडक्रस सोसाइटीमार्फत बाढी प्रभावित समुदायको सहयोगका लागि रु. ५० लाख प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। उक्त रकम आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका काममा प्रयोग गरिने बताइएको छ।

यसका अतिरिक्त अभियान अवधिभर Uber प्लेटफर्ममार्फत सम्पन्न हुने प्रत्येक Uber Bike यात्राबापत रु. १० र Uber Cab यात्राबापत रु. २० Uber ले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

यसरी अभियान अवधिमा जति धेरै योग्य यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि हुने Uber को कुल सहयोग पनि त्यति नै बढ्दै जानेछ।

Uber का अनुसार अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने आम्दानीमा कुनै परिवर्तन हुने छैन। यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्। प्रत्येक योग्य सम्पन्न यात्राबापतको योगदान Uber ले आफ्नै तर्फबाट अतिरिक्त रूपमा उपलब्ध गराउनेछ।

नेपालका लागि Uber का रणनीतिक साझेदार Taximandu का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्का समयमा यात्रु र चालकको सहभागिता महत्वपूर्ण हुने बताए।

उनले ‘Ride for Nepal’ अभियानलाई विपद्को समयमा सबै मिलेर सहयोग गर्ने अवसरका रूपमा व्याख्या गर्दै हरेक राइडलाई बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणसँग जोड्ने उद्देश्य रहेको बताए।

त्यस्तै, Uber India and South Asia की Head of International Markets आकांक्षा सिंहले नेपालको राहत तथा पुनर्स्थापना प्रयासमा सामूहिक सहयोग आवश्यक रहेको बताइन्। Uber आफूले सेवा प्रदान गर्ने समुदायको अभिन्न हिस्सा भएकाले कम्पनीको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित नरहेको उनको भनाइ छ।

Uber ले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आफ्नो प्लेटफर्म र स्रोत परिचालन गर्दै बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा योगदान पुर्‍याउने जनाएको छ।

कम्पनीले सबै यात्रु तथा चालकलाई ‘Ride for Nepal’ अभियानमा सहभागी भई बाढी प्रभावित समुदायको पुनर्निर्माणमा साथ दिन आग्रह गरेको छ।

सम्बन्धित समाचार