माओवादी संगठन विभागले माग्यो पार्टीको विशेष महाधिवेसन

0 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को संगठन विभागले विशेष महाधिवेसन माग गरेको छ । गत जेठ ४ गते बसेको संगठन विभागका प्रमुख जनार्दन शर्माको अध्यक्षमा बसेको बैठकले पार्टीको विशेष महाधिवेसन माग गरेको हो । तर, विशेष महाधिवेसन माग गरिएको पत्र अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले पार्टीको विधान अधिवेसन सकिए लगत्तै विशेष महाधिवेसन गर्ने निर्णय भए बमोजिम विशेष महाधिवेसन गर्न माग गर्ने निर्णय भएको बताए । ‘माओवादीको विशेष महाधिवेसन गर्ने पार्टीको नयाँ निर्णय होइन ।

पार्टीको आठौं महाधिवेसन सकिए लगत्तै विधान अधिवेसनपछि विशेष महाधिवेसन गर्ने निर्णय भएको थियो’ मल्ले भने, ‘संगठन विभाग बैठकले पार्टीको विधान बनिसक्यो । अब विधान बमोजिम पार्टीको विशेष महाधिवेसन गर्नुपर्छ भन्ने निर्णय भएको हो । त्यो निर्णय पार्टीलाई जानकारी गराइयो कि गराइएन त्यस बारेमा जानकारी भएन ।’ माओवादीले गत फागुन १ गतेदेखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा भएको विधान अधिवेसन बैठकले ६ महिनाभित्र पार्टीको विशेष महाधिवेसन गर्ने निर्णय गरेको थियो । विधान बमोजिम पार्टी संगठन चलाउन ६महिनाभित्र विशेष महाधिवेसन गर्ने बताएको हो ।

तर, प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले विशेष महाधिवेसनका बारेमा कुनै निर्णय नगरेपछि संगठन विभागका तर्फबाट शर्माले माग गरेका हुन् । तर, पार्टी कोषाध्यक्ष श्रीराम ढकालले संगठन विभागका तर्फबाट विशेष महाधिवेसन गर्न पत्र प्राप्त नभएको जानकारी दिए । यदी पत्र दिएको भए प्रधानमन्त्री निवास वा प्रधानमन्त्री कार्यालयमा दिएको भए हुनसक्छ नभए थाहा नभएको उनले बताए ।

माओवादीले विधान अधिवेसनमा पार्टीका सबै कमिटी सर्वसम्मत गर्ने त्यसो हुन नसकेमा निर्वाचन पद्धतिबाटै नेतृत्व चयन गर्ने निर्णय गरेकोे थियो । त्यसैले माओवादीको विशेष महाधिवेसनलाई महत्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार