काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले सुदूरपश्चिम प्रदेशमा व्यवसाय विस्तार तथा चालु आर्थिक वर्षको रणनीति कार्यान्वयनबारे समीक्षा गरेको छ। बैंकले प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा रणनीतिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
“अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स २०८३/८४” नाम दिइएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीको सहभागिता थियो।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। केन्द्र र प्रदेश तहका कार्यालयबीचको सहकार्य थप प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया भएको थियो।
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैंकका १० शाखा सञ्चालनमा छन्। बैंकले यसअघि बागमती, कोशी र मधेश प्रदेशमा पनि प्रदेशगत व्यवसाय विस्तार र रणनीति समीक्षासम्बन्धी कार्यक्रम आयोजना गरिसकेको जनाएको छ। अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
बैंकको खुद नाफा भने ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहकका लागि विभिन्न सेवा विस्तार गरेको जनाएको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। त्यस्तै युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याइएको छ।
बैंकले मोबाइल बैंकिङबाटै सेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवासमेत सञ्चालनमा ल्याएको जनाएको छ।
हाल बैंकले ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ। बैंकका अनुसार यी सञ्जालमार्फत २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान भइरहेको छ।