उद्योगमन्त्रीको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण



0 Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्योगी–व्यवसायीलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बुधबार संसदीय समितिको बैठकमा मन्त्री कुमारीले ग्यास उद्योगीलाई ‘पाता नकसेसम्म’ ग्यास आपूर्ति सहज नहुने आशयको अभिव्यक्ति दिएको भन्दै परिसंघले त्यसले निजी क्षेत्रलाई निराश बनाएको जनाएको हो । विपद्का समयमा सरकारसँग सहकार्य गर्दै आपूर्ति व्यवस्था सहज बनाउन प्रयासरत उद्यमी–व्यवसायीलाई यस्ता अभिव्यक्तिले निरुत्साहित बनाउने परिसंघको ठहर छ ।

लगानी अभिवृद्धि, रोजगारी सिर्जना तथा समग्र अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको मनोबल उच्च राख्नुपर्ने समयमा जिम्मेवार पदाधिकारीबाट आउने यस्ता अभिव्यक्तिले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै समस्या समाधानमा समेत अवरोध सिर्जना गर्ने परिसंघले जनाएको छ ।

आपूर्ति शृङ्खलामा आएको परिस्थितिजन्य अवरोधका कारण ग्यास अभाव भएको अवस्थामा कुनै उद्योगी वा व्यवसायीले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए सम्बन्धित पक्षलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने विषयमा भने परिसंघ स्पष्ट रहेको जनाएको छ ।

सम्बन्धित समाचार