बाढी प्रभावित क्षेत्रमा डिशहोमको निःशुल्क स्याटलाइट इन्टरनेट

0 Shares

काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउन थालेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वनवेबसँग सहकार्य गरी भदौ २० गतेदेखि प्रभावित क्षेत्रमा सेवा सुरु गरेको हो।

बाढीका कारण स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेका कारण सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र अन्य महत्वपूर्ण केन्द्रमा वैकल्पिक सञ्चार सेवाका रूपमा स्याटलाइट इन्टरनेट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

युटेलस्याट वनवेबको लोअर्थ अर्बिट (एलईओ) स्याटलाइट प्रविधिबाट सञ्चालन हुने यो सेवाले विपद्को समयमा सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धारकर्मीबीच सूचना आदानप्रदान र समन्वयलाई निरन्तरता दिन सहयोग गर्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार बाढीका कारण परम्परागत दूरसञ्चार सेवा अवरुद्ध भएको अवस्थामा भरपर्दो वैकल्पिक सञ्चार सुविधा उपलब्ध गराउनु प्राथमिकतामा राखिएको छ। रसुवा बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार पूर्वाधारमा परेको असरबारे पनि सार्वजनिक विवरणहरू आएका छन्। 

डिशहोमले कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

सम्बन्धित समाचार