काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा टाटा मोटर्सका सवारीसाधनको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन (SCV) खरिद गर्न चाहने ग्राहकलाई सहज तथा व्यवस्थित वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यस समझदारीअनुसार सिप्रदीका देशभर रहेका शाखामर्फत टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकबाट सवारी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। सिप्रदीले आवश्यक कागजातसहित सम्भावित ग्राहकलाई बैंकमा कर्जा प्रक्रियाका लागि सिफारिस गर्नेछन् भने बैंकले आफ्नो कर्जा नीति तथा ग्राहकको क्रेडिट मूल्यांकनका आधारमा कर्जा स्वीकृत गर्ने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार आन्तरिक दहन इन्जिन (आईसीई) सवारीसाधनका लागि ७० प्रतिशतसम्म तथा विद्युतीय सवारीसाधनका लागि मूल्यको ६० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सकिनेछ। व्यवसायिक संस्थाले बैंकलाई स्वीकार्य स्थिर सम्पत्ति धितो उपलब्ध गराएको अवस्थामा आईसीई सवारीसाधनका लागि वित्तीय सीमा मूल्यको १०० प्रतिशतसम्म पुर्याउन सकिने व्यवस्था पनि गरिएको छ।
यस सहकार्यले व्यवसायिक सवारीसाधन खरिद गर्न चाहने उद्यमी, व्यवसायी तथा ग्राहकलाई वित्तीय पहुँच सहज बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। कर्जा अवधि ग्राहकसँगको सहमतिअनुसार निर्धारण गरिनेछ।
मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीचको यस सहकार्यले टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद प्रक्रियालाई थप सहज बनाउनुका साथै ग्राहकलाई वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर तथा सिप्रदी ट्रेडिङ प्रा.लि. का तर्फबाट उपाध्यक्ष सौरभ थापालियाले हस्ताक्षर गरेका छन् । सम्झौता भदौ ८, २०८३ अर्थात् अगस्ट २४, २०२६ मा काठमाडौंमा सम्पन्न भएको हो।