काठमाडौँ । यो महिना नेपाली उपभोक्ताले गाडी हेर्दै बिताए भने अबको साता गाडी किनेपछि आवश्यक पर्ने सेवा, उपकरण र वित्तीय सुविधासमेत एउटै थलोमा हेर्न पाउने भएका छन् । भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा सवारीसाधनसँगै अटोमोबाइल उद्योगको विस्तृत इकोसिस्टम प्रदर्शन गरिने भएको छ ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। नाडाका अनुसार २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् । तर प्रदर्शनीको ठूलो हिस्सा सवारीसाधन बिक्री गर्ने ब्रान्डले मात्र ओगट्ने छैन । करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र विद्युतीय सवारी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन् ।
त्यस्तै करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले सवारी कर्जा, बीमा र विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजनासहित सहभागिता जनाउनेछन् । यसले उपभोक्तालाई गाडी छनोटसँगै त्यसको खरिदका लागि आवश्यक वित्तीय सुविधा, बीमा, मर्मतसम्भार तथा अन्य उपकरणबारे पनि एउटै स्थानबाट जानकारी लिन सक्ने अवसर प्रदान गर्नेछ ।
नाडाका अनुसार सवारीसाधन खरिद गर्ने निर्णय केही साताको हुन सक्छ, तर त्यसको स्वामित्व र प्रयोगसँग जोडिने सेवा तथा खर्च वर्षौंसम्म कायम रहन्छ। उपभोक्ता गाडी छनोटका लागि सोरुम धाउने गरे पनि खरिदपछि लामो समय वर्कसप, बैंक, बीमा कम्पनी, टायर पसल तथा अन्य अटो सेवा प्रदायकसँग जोडिनुपर्ने भएकाले अटो शोमा यी क्षेत्रलाई समेत समान महत्व दिइएको हो ।
प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ । यसबाट उपभोक्ताले आफूले रोजेको सवारीसाधन हेर्नुका साथै त्यससँग सम्बन्धित कर्जा, बीमा, पार्ट्स, चार्जिङ र मर्मतसम्भार सेवाबारे पनि जानकारी लिन सक्नेछन् ।
यस वर्षको प्रदर्शनीमा विभिन्न देशका सवारी ब्रान्डको उल्लेख्य सहभागिता रहनेछ । युरोपेली इन्जिनियरिङका लागि परिचित स्कोडादेखि मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन तथा चिनियाँ निर्माता चेरीका ओमोडा र जेकु, जीडब्ल्यूएम लगायत ब्रान्ड सहभागी हुनेछन् । जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एउटै प्रदर्शनीस्थलमा प्रदर्शन हुनेछन् ।
नाडाले विदेशी कम्पनी तथा सम्भावित नेपाली साझेदारबीच व्यावसायिक सहकार्यका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनसमेत स्थापना गरेको छ। यसले अटोमोबाइल क्षेत्रलाई केवल आयात र बिक्रीमा सीमित नराखी उत्पादन, एसेम्बली, प्रविधि हस्तान्तरण तथा व्यावसायिक साझेदारीतर्फ लैजाने उद्देश्य देखाउँछ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शो भनेको गाडीले भरिएको प्रदर्शनी मात्र नभएको बताए। उनका अनुसार वर्षौंसम्म सवारीसाधन सञ्चालनमा सहयोग गर्ने पार्ट्स, सेवा, वित्तीय तथा अन्य उद्योग पनि अटोमोबाइल क्षेत्रको महत्वपूर्ण हिस्सा भएकाले त्यसलाई समेत प्रदर्शनीमा देखाउन आवश्यक छ ।
पचास वर्षअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी एउटा कोठामै सीमित हुने गरेको स्मरण गर्दै नाडाले अहिले तीन लाख वर्गफिट क्षेत्रफलमा प्रदर्शनी सञ्चालन गर्नुपर्ने अवस्था आउनु सवारीसाधनको संख्या बढेको मात्र नभई समग्र अटोमोबाइल उद्योगको आकार र दायरा विस्तार भएको प्रमाणका रूपमा लिएको छ। यस वर्षको नाडा अटो शोले नयाँ गाडीका साथै गाडी किनेपछि उपभोक्ताले वर्षौंसम्म आवश्यक पर्ने सम्पूर्ण सेवा र प्रविधिलाई समेत एउटै मञ्चमा ल्याउने तयारी गरेको छ ।