एभरेष्ट बैंकको खुद नाफा ४.७५% ले बढ्यो, वितरणयोग्य मुनाफा ५ अर्ब २७ करोड

0 Shares

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ७.४५ प्रतिशतले वृद्धि भई ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले ९ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब ५३ करोड रुपैयाँबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

१३ अर्ब ७२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित मुनाफा (रिटेन्ड अर्निङ) ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोष (रिजर्भ) १३ अर्ब ८६ करोड रुपैयाँबाट बढेर १५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने केही बढेको छ। अघिल्लो आर्थिक वर्षको ०.३८ प्रतिशत रहेको यस्तो अनुपात समीक्षा अवधिमा ०.४९ प्रतिशत पुगेको छ ।

चौथो त्रैमाससम्म बैंकको कुल निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ तथा कुल कर्जा प्रवाह २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप २ खर्ब ९८ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३६.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १८.८१ गुणा तथा तरलता अनुपात ३१.९१ प्रतिशत कायम रहेको छ ।

सम्बन्धित समाचार