काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार इम्पेरमेन्ट चार्जमा आएको भारी गिरावटसँगै बैंकको व्यवसाय विस्तार, खुद नाफा, लाभांश क्षमता र प्रतिशेयर आम्दानीमा निकै आकर्षक सुधार आएको छ ।
समीक्षा अवधिमा बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (६४ करोड ५६ लाख रुपैयाँ) को तुलनामा ८२.९६ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी बढ्नु र इम्पे्यरमेन्ट चार्ज घट्नु जस्ता कारणले बैंकको नाफा वृद्धिमा सहयोग पुर्याएको छ ।
कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भएका कारण बैंकको नाफामा यो हदसम्मको वृद्धि हुन पुगेको हो । बैंकको निष्कृय कर्जा भने ४.२७ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ ।
प्रमुख वित्तीय विवरण तथा सूचकहरू:
खुद ब्याज आम्दानी: २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट ६.८९ प्रतिशत बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा: ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
वितरणयोग्य नाफा: नियमनकारी र सञ्चित नाफा समायोजनपश्चात् बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ८६ पैसा कायम भएको छ, जसले आकर्षक लाभांश क्षमता प्रस्तुत गर्दछ।
बैंकको अघिल्लो आवमा ६६ करोड ५० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको थियो । गत आवमा लाभांश क्षमता पनि १३.७१ रुपैयाँ मात्र थियो ।
चुक्ता पुँजी तथा जगेडा कोष: बैंकको चुक्ता पुँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ र कुल जगेडा कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । बैंकको रिटेन्ड अर्निङ २.६६ प्रतिशतले बढेर ८४ करोड ६४ लाख पुगेको छ । रिजर्भ फण्डको आकार पनि १६.३८ प्रतिशतले बढेर २ अर्ब १४ करोड पुगेको छ ।
वासलातको आकार र कारोबार विस्तार:
निक्षेप संकलन: ७१ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
कर्जा प्रवाह: ५६ अर्ब ९० करोड रुपैयाँबाट बढेर ६३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
कुल सम्पत्ति: बैंकको कुल सम्पत्ति ८० अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८७ अर्ब ७० करोड रुपैयाँ नाघेको छ ।
बैंकको कस्ट अफ फण्ड ४.८५ प्रतिशतबाट घटेर ३.६८ प्रतिशत कायम भएको छ । बैंकको सिडि रेसियो ८४.१८ प्रतिशत, बेस रेट ५.३८ प्रतिशत, स्प्रेड दर ४.०१ प्रतिशत, आरओइ १५.३५ प्रतिशत, आरओए १.४१ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २३.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.४८, मूल्य आम्दानी अनुपात १७.६४ गुणा र तरलता अनुपात २७.३२ प्रतिशत कायम भएको छ ।