काठमाडौं । आज साउन १५, नेपाली समाजमा परम्पराअनुसार खिर खाएर यो दिन मनाइँदै छ। वर्षायाममा असार १५ मा दही–चिउरा र साउन १५ मा खिर खाने चलन प्राचीनकालदेखि मौलिक संस्कृतिका रूपमा कायम छ। सरकारले २०७७ सालदेखि साउन १५ लाई राष्ट्रिय ‘खिर दिवस’का रूपमा मनाउन थालेपछि यसको महत्व थप बढेको छ।
यस वर्ष ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ।
नेपाल डेरी एशोसिएसनका अनुसार साउन १५ का अवसरमा आज देशभर करिब १ करोड लिटर दूध खपत हुने र त्यसबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। खिर दिवसले दुग्धजन्य उत्पादनको खपत बढाउनुका साथै पशुपालक किसान र डेरी उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
साउने झरीका बेला तातो खिर स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका कारण यो परम्परा बसेको मानिन्छ। दूध, चामल, चिनी र विभिन्न मसला मिसाएर बनाइने खिरलाई संस्कृतमा ‘पायस’ भनिन्छ। वैदिक परम्परामा पायसलाई सात्विक आहारमध्ये उत्कृष्ट मानिएको छ र देवकार्य तथा पितृकार्यमा यसको विशेष महत्व रहेको उल्लेख पाइन्छ।
साउन महिनामा खेतबारीको मुख्य काम सकिने, हरियाली बढ्ने र गाईभैंसीले प्रशस्त दूध दिने भएकाले इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन विकसित भएको विश्वास गरिन्छ।
साउन भगवान् शिवको महिना भएकाले शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय मानिन्छन्। त्यसैले धेरैले आज शिवालयमा खिर चढाएर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा पनि निर्वाह गर्छन्।
नेपालका विभिन्न समुदायमा खिर खाने शैली फरक भए पनि यसले सांस्कृतिक एकताको सन्देश दिने गरेको छ। कृषकहरूले धान रोपाइँ सम्पन्न भएको खुसीयालीमा देवीदेवतालाई खिर चढाएर मात्र खाने परम्परा पनि कायम छ। राजधानीसहित विभिन्न स्थानका विद्यालय, कलेज, कार्यालय र सामाजिक संस्थाले सामूहिक रूपमा खिर वितरण तथा भोजन कार्यक्रम आयोजना गरेका छन्।
स्वास्थ्यविद्हरूका अनुसार वर्षायाममा दूध र चामलबाट बनेको तातो खिरले शरीरलाई ऊर्जा दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछ। खिरमा प्रयोग हुने ओखर, बदाम, किसमिस, नरिवलजस्ता सामग्रीले पोषणसमेत थप्ने गर्छन्।
नेपाली समाजमा चामलबाहेक सावदाना, सेवई, मकै, गाजरलगायतका सामग्रीबाट पनि खिर बनाइन्छ। विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खिर खाने चलन पनि छ।
नेपाली बृहत् शब्दकोशले खिरलाई दूधमा चामल, चिनी र मसला हालेर पकाइने स्वादिष्ट खाद्य पदार्थ अर्थात् पायसका रूपमा परिभाषित गरेको छ। नेपाली संस्कृतिमा असार १५ मा दही–चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउखट्टे र माघ १५ मा मालपुवा बनाएर परिवार तथा आफन्तसँग खाने मौलिक परम्परा रहिआएको छ।
खिर दिवसले नेपाली खानपान संस्कृतिको संरक्षण मात्र होइन, दुग्ध उत्पादनको खपत बढाउँदै किसान, डेरी उद्योग र समग्र अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुर्याउने विश्वास गरिएको छ।