‘दास र लास’को घेराबन्दीबाट उठेको काङ्ग्रेस ‘हाड लाइनर’ चक्रब्युहको बाटोमा

0 Shares

नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनमा गगन थापाले बोलेको एउटा वाक्य निकै चर्चित बन्यो- ‘यो दास र लासको पार्टी होइन । यहाँ कसैको बा हुँदैन, दाइ हुँदैन ।’ त्यो अभिव्यक्तिलाई धेरैले पार्टीभित्रको चाकडी संस्कृति, अन्धभक्ति र व्यक्तिपूजाविरुद्धको साहसी उद्घोषका रूपमा लिए। कार्यकर्ताले आशा गरे- अब पार्टीमा पहुँच होइन, गुट होइन, योगदान र चाकडी होइन, योग्यताले स्थान पाउनेछ ।

तर, समयसँगै एउटा गम्भीर प्रश्न उठ्न थालेको छ- के व्यवहारले त्यो भाषणलाई पुष्टि गरिरहेको छ । कि, व्यवहारले उल्टै अर्को प्रकारको घेराबन्दी जन्माइरहेको छ ? पछिल्लो समय नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, दलित संघलगायत विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समितिहरूमा अवसर पाउनेहरूको सूची हेर्दा आलोचकहरूले एउटै प्रश्न उठाइरहेका छन् ।

पार्टीभित्रको धारणा के छ भने जिम्मेवारी प्रायः उनकै निकट मानिने, सचिवालयमा काम गरेका वा उनको राजनीतिक समूहसँग आबद्ध व्यक्तिहरूकै वरिपरि केन्द्रित भइरहेको छ । निर्वाचनमा उम्मेदवार छनोटका क्रममा पनि ‘हाम्रो समूह’का व्यक्तिलाई प्राथमिकता दिइएको आरोप सुनिन्छ ।

यदि यस्तो धारणा बलियो बन्दै गयो भने, यसले ‘दास र लास’ संस्कृतिको अन्त्य गर्दैन । बरु ‘हार्ड लाइनर संस्कृति’को सुरुवात गर्छ । नाम मात्र बदलिन्छ, प्रवृत्ति उस्तै रहन्छ ।

अझ पछिल्लो समय काङ्ग्रेसभित्र अर्को चिन्ताजनक बहस पनि बढेको छ । पार्टीलाई एकताबद्ध बनाउनेभन्दा गुट ध्रुवीकरण बढाउन भूमिका खेलेको आरोप गगन थापामाथि लाग्ने गरेको छ । पुराना तथा शीर्ष नेताहरूसँग आवश्यक संवाद, समन्वय र विश्वास निर्माणमा उनी पर्याप्त सक्रिय देखिएनन् भन्ने टिप्पणी पार्टीभित्र र बाहिर दुवैतर्फबाट सुनिन्छ ।

कुनै पनि ठूलो लोकतान्त्रिक दलमा फरक पुस्ता र फरक धाराबीच संवाद नै एकताको आधार हो । तर, संवादको ठाउँमा दूरी बढ्दै जाँदा पार्टीभित्र अविश्वास र विभाजनको भावना बलियो बन्छ ।

नेतृत्व परिवर्तनको एजेन्डा उठाउनु एउटा कुरा हो । तर परिवर्तनलाई पार्टीको एकतासँग जोडेर अघि बढाउनु अर्को कुरा हो । यदि परिवर्तनको अभियानले पार्टीलाई थप ध्रुवीकृत बनाउँछ भने त्यसको राजनीतिक मूल्य निकै महँगो पर्न सक्छ ।

आज धेरै जिल्लामा अर्को प्रवृत्ति पनि देखिन थालेको छ । केही व्यक्तिहरू आफूलाई गगन थापाको सबैभन्दा निकट भएको दाबी गर्दै ‘हामीलाई नसोधी गगनजीले केही निर्णय गर्नुहुन्न’ भन्ने सन्देश फैलाएर जिल्लाको सम्पूर्ण राजनीतिक प्रतिनिधित्व आफूमा केन्द्रित गर्न खोजिरहेका छ न्। यसले संगठनभित्र समान अवसरको वातावरण कमजोर बनाउँछ । योगदान दिएका धेरै कार्यकर्ताको आवाज नेतृत्वसम्म पुग्नै सक्दैन ।

इतिहासले देखाएको छ- धेरै नेता आफ्ना विरोधीभन्दा आफ्नै वरिपरि बनेको घेराबन्दीका कारण कमजोर भएका छन् । जब नेताले सम्पूर्ण संगठनको आवाज सुन्न छाडेर सीमित समूहको सूचनामा मात्र निर्भर हुन थाल्छ, निर्णय पनि क्रमशः सीमित दृष्टिकोणबाट हुन थाल्छ ।

निश्चय गगन काङ्ग्रेसका लोकप्रिय, ऊर्जावान र परिवर्तनको आशा जगाएका नेतामध्ये एक हुन् । त्यसैले उनीमाथि अपेक्षा पनि अरूभन्दा बढी हुनु स्वाभाविक हो । तर, ठूलो नेता बन्न भाषण मात्र पर्याप्त हुँदैन, आफूले बोलेको सिद्धान्तलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।

यदि, उनले साँच्चै ‘दास र लास’को संस्कृतिको अन्त्य गर्न चाहन्छन् भने आफ्नो वरिपरि बनेको ‘हार्ड लाइनर’ घेरा तोड्नुपर्छ । अवसर केवल समर्थकलाई होइन, फरक मत राख्ने, आलोचना गर्ने र लामो योगदान दिएका कार्यकर्तालाई पनि समान रूपमा दिन सक्नुपर्छ । पुराना नेतासँग प्रतिस्पर्धा हुन सक्छ । तर, संवाद टुट्नु हुँदैन। विचार फरक हुन सक्छ, तर पार्टीको एकता कमजोर हुनु हुँदैन ।

अन्ततः इतिहासले नेतालाई कति समर्थक बनाए भनेर होइन । कति ठूलो पार्टीलाई एकताबद्ध राख्न सके भनेर मूल्याङ्कन गर्छ । यदि काङ्ग्रेसलाई साँच्चै बलियो बनाउने हो भने ‘दास र लास’ मात्र होइन, ‘हार्ड लाइनर’ मानसिकताबाट पनि मुक्त हुनैपर्छ ।

सम्बन्धित समाचार