राजावादीको चेपुवामा पूर्वराजा ज्ञानेन्द्र

0 Shares

हरि खड्का

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले शाहले प्रजातन्त्रको अवसरमा दिएको सन्देशले नेपाली राजनीतिमा ठूलै तरङ्ग ल्यायो । राष्ट्र जोगाउने गरी राष्ट्रिय एकता कायम राख्न र देशको उन्नति र प्रगतिका लागि आफूलाई साथ दिन जनतालाई अनुरोध गर्दै एउटा शुभकामना सन्देश जारी गरे ।

उनले आफू नेतृत्व दिन तयार रहेको भन्दै दिएको सन्देशले राजावादीमा खुसी छाएको थियो । यसैबीच पोखराबाट काठमाडौं फर्कंदै गरेका पूर्वराजालाई स्वागत गर्न ठूलै जनमास भेला भए ।

पछिल्लो पटक उनी आफ्नो पुर्खाको जन्मभूमि भन्दै गोरखा पुगे । जहाँ उनको जयजयकारसँगै जुत्ता लगाइदिनेसम्म काम भयो । यहाँ पनि उनको पक्षमा ठूलो स्वागत भएको थियो ।

पूर्वराजा घुमाउरो पारामा नेपाली राजनीतिमा होमिएसँगै तराईमा कार्यक्रम गरिरहेका गणतन्त्रवादी प्रमुख दल नेकपा माओवादी केन्द्रले कार्यक्रम स्थगित गरी गणतन्त्रवादी दलसँग छलफल अगाडि बढायो ।

यसैबीच ज्ञानेन्द्रले राजावादी दल र आन्दोलनलाई एकजु बनाउने भन्दै पञ्चायती नेताको नेतृत्वमा नयाँ संगठन बनाए । यसले राजावादी आन्दोलनमा जटिलता बनायो ।

२०४६ को प्रजातान्त्रिक आन्दोलनपछि देशमा तीन जना राजा भए । जसमा वीरेन्द्र, ज्ञानेन्द्र र दीपेन्द्र थिए । दीपेन्द्र राजा घोषित भए पनि शासन गर्न पाएनन् । गद्दीमा पनि बसेनन् ।

यसबीचमा देखिएका राजा थिए, वीरेन्द्र र ज्ञानेन्द्र । राजावादीले चाहेको राजा कस्तो हो ? वीरेन्द्र जस्तो कि ज्ञानेन्द्र जस्तो । वीरेन्द्र जस्तै संविधानको अक्षरशः पालना गर्दै बस्ने राजा कि ? आफैँ शासन चलाउन सक्छु भन्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिने ज्ञानेन्द्र जस्तो भन्ने राजावादीमा अन्योल छाएको छ ।

संवैधानिक राजा आउने भए, उसले नेपालको समृद्धीको नेतृत्व कसरी गर्न सक्छन् ? यो स्पष्ट हुनु आवश्यक रहेको छ । यसअघि उनीहरुको शासन नेपाली जनताले लामो समय भोगिसकेको अवस्थामा अबको बाटो स्पष्ट हुन आफैमा महत्वपूर्ण हुन आउँछ ।

राजतन्त्रलाई आफ्नो प्रमुख एजेण्डा बनाएको राप्रपा संवैधानिक राजा भन्छन् । यसले राजतन्त्रको विषयमा एकजुट हुने भन्दा राजाबादी गुटमा फाटो ल्याउने देखिन्छ । राजा ज्ञानेन्द्रले २०५८ सालमा शासन सत्ता सुरु गर्नेबित्तिकै राजतन्त्रै फाल्ने कुरा चलेको थिएन ।

जब उनले सत्ता र शक्ति आफूमा केन्द्रित गरी प्रजातन्त्रको हत्या गरे, तब मात्र उनी विवादमा आए । त्यसपछि गणतन्त्रको नारा लाग्न थालेको हो ।

गणतन्त्र भनाउँदा दलहरुले सत्ता र शक्ति आफूमा कन्द्रित गर्दै जाँदा यही व्यवस्थाविरुद्धको निराशापनले जनतालाई सडकमा आउन बाध्य बनाएको स्पष्ट देखिन्छ ।

प्रधानमन्त्रीले सत्ता र शक्ति आफूमा केन्द्रित गर्ने र आफूलाई आलोचना गर्नेविरुद्ध खनिन थाले, यसले गणतन्त्रलाई धरापमा पार्ने दखिन्छ ।

राजतन्त्रको पुनर्बहाली कसले गर्ने हो ? को असली राजावादी देखिने भन्ने प्रतिस्पर्धाले राजावादी गुटमा फुट ल्याउने देखिन्छ । राजतन्त्र लागि नभएर सत्ताका लागि अग्रसर हुने हो भने यस्तो आन्दोलनको कुनै औचात्य छैन ।

सम्बन्धित समाचार