संसारले आफूलाई सभ्यताको उत्कर्षमा पुगेको दाबी गरिरहेको छ । मानव अधिकार, समानता, न्याय र शान्तिका भाषणहरू दिनहुँ दोहोरिन्छन् । तर, वास्तविकता भने अर्कै कथा सुनाउँछ ।
विश्वमा असमानताको खाडल झन् गहिरिँदै गएको छ । पुँजी, प्रभाव र शक्तिको घेराभित्र उभिएकाहरूका लागि नियम पनि फरक हुन्छन्, न्याय पनि । कमजोर र निर्धाहरूका लागि भने न्याय प्रायः एउटा सुन्दर शब्द मात्र बनेर रहन्छ ।
समाजमा एउटा खतरनाक भाष्य विस्तारै सामान्य बन्दै गएको छ- शक्ति नै सत्य हो, शक्ति नै सम्मान हो । त्यसैले शक्तिको पूजा गरिन्छ । शक्तिको शरण खोजिन्छ, र शक्तिशाली बन्नुलाई नै सफलताको पर्याय ठानिन्छ । यस्तो सोचले न्यायभन्दा प्रभाव र नैतिकताभन्दा हैसियतलाई ठूलो बनाइदिन्छ ।
समान शक्तिबीचको प्रतिस्पर्धाले क्षति त पुर्याउँछ । तर, असमान शक्तिबीचको भिडन्त प्रायः निर्ममतामा टुंगिन्छ । इतिहासका धेरै युद्धहरू आफ्नो अस्तित्व जोगाउनभन्दा पनि आफ्नो शक्ति देखाउन सुरु भएका छन् । प्रत्यक्ष प्रतिस्पर्धीलाई चुनौती दिन नसक्दा कमजोरमाथि विजयको प्रदर्शन गर्ने प्रवृत्ति नयाँ होइन ।
नेपाली समाजको उखान- छोरी कुटेर बुहारी तर्साउनेू- विश्व राजनीतिमा पनि बेलाबेला सान्दर्भिक देखिन्छ। कमजोरमाथि दबाब सिर्जना गरेर शक्तिशालीलाई सन्देश पठाउने यो शैली सभ्य भाषामा कूटनीति भनिएला, तर त्यसको पीडा सधैं कमजोरले नै भोग्छ ।
विडम्बना, शक्ति प्रदर्शनको यो संस्कार युद्धभूमिमा मात्र सीमित छैन । कहिलेकाहीँ खेल मैदान पनि यसको सुरक्षित प्रयोगशाला जस्तै देखिन थाल्छ । जहाँ खेलभावना, निष्पक्षता र नियमभन्दा प्रभाव, पहुँच र प्रतिष्ठा भारी पर्न थाल्छ । खेल जित्नेभन्दा पनि कसले खेललाई आफ्नो पक्षमा मोड्न सक्छ भन्ने प्रतिस्पर्धा देखिन थाल्यो भने मैदान र युद्धभूमिबीचको दूरी आफैँ घट्दै जान्छ ।
खेलमा हुने अन्यायले शरीरमा गोली चलाउँदैन । तर, आत्मविश्वासमा प्रहार गर्छ । त्यसले मैदानमा पराजित टोली मात्र होइन, करोडौँ समर्थकको निष्पक्षतामाथिको विश्वास पनि घाइते बनाउँछ । युद्धले शहरहरू ध्वस्त पार्छ भने अन्यायपूर्ण खेलले विश्वासका संरचनाहरू भत्काउँछ । दुवैको साझा विशेषता एउटै हुन्छ- सबैभन्दा ठूलो मूल्य कमजोरले चुकाउँछ ।
खेलमा नियम सबैका लागि बराबर हुनुपर्छ, र युद्धमा मानवता सबैभन्दा माथि । तर जब, नियम शक्ति हेरेर लागू हुन थाल्छन् र मानवता स्वार्थको छायाँमा हराउँछ, तब जित्नेले इतिहास लेख्ला, तर हार्नेले पीडा बाँचिरहन्छ ।
युद्ध र खेल फरक विषय हुन्, तर जब दुवैमा शक्तिलाई नै न्यायको पर्याय बनाइन्छ, तब दुवैको साझा अनुहार एउटै देखिन थाल्छ- निर्धामाथिको निर्ममता ।