नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलो-ठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरे । उनको होस हवास उड्यो ।
उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे । भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो । त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो ।
‘भोटेकोशीमा बाढी यति धेरै आएको थियो की पाँच दश मिनेट मैले केही सोच्नै सकिन,’ वीरबहादुरले रासससँग भने, ‘एकछिनपछि त झल्यास्स सम्भिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने ।’ उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका १० भैँसेलाई सम्झिए । अनी भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरिन् । ‘श्रीमतीको फोन मरिकाटे उठ्दैन,’ उनले सम्झदै भने ।
वीरबहादुरलाई दिमागले काम गर्न छोडे जस्तै भयो । उनले तारन्तार फोन गरिरहे । श्रीमतीको फोन नउठेपछि उनले छोरी एविकालाई सम्झिए । उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन् । उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन् ।
‘छोरीले एक कलमै फोन उठाइन्, अनी मैले धुञ्चेबाट देखिरहेको सुनिरहेको दृश्यबारे उनलाई बताएँ,’ वीरबहादुरले भने, ‘एक छिनपछि त श्रीमती र दाजु (रमेश)ले पनि फोन उठाउनुभयो ।’ उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यति बेला खेतमा थिइन् । उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पुर्याइसकेका थिए ।
वीरबहादुरको आफ्नै माइक्रोबस छ । उनी आफैँले त्यही माइक्रोबस बेत्रावतीबाट काठकाडौँको मार्गमा चलाउँछन् । बाढी आएको दिन भने उनी धार्मीकस्थल गोसाइँकुण्ड जाने १० यात्रु लगेर बिहानै धुञ्चे उक्लिएका थिए । उनका अनुसार यात्रुहरू सबै धादिङका थिए । उनीहरूले वीरबहादुरको माइक्रोबस भाडामा लिएर त्यसतर्फ गएका थिए ।
‘भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ,’ वीरबहादुरले भने । अरु बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौँका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैँसे वरपर बित्थ्यो । त्यसदिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा परेनन् ।
‘अरु दिन हुन्थ्यो भने म मात्र होइन्, परिवार नै बाढीमा बग्थ्यो,’ उनले भने, ‘धुन्चेमा भएर बेलैमा भोटेकोशीको बाढीबारे थाहा पाएँ, मेरो एक कल फोनले परिवार र छरछिमेक मात्र होइन्, टोलकै बासिन्दालाई बचाउन सकेँ ।’ मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेका उनले बताए । सबै भोटेकोशीको बाढीमा विलय भएका छन् ।
पाँच जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर औधी खुसी छन् । उनले भने, ‘सम्पत्ति त फेरि फेरि पनि जोड्न सकिएला, जीवन त कहाँ पाउनु?’ श्रीमान् वीरबहादुरको फोनले धेरैको ज्यान बचाउन सकिएमा गङ्गा पनि खुसी छिन् ।
‘खेतबाट निकै बेरसम्म बाढी आयो भनेर चिच्याएँ, धेरैले त सुरुआतमा विश्वासै गरेनन्,’ उनले भनिन्, ‘टिमुरे र स्याँफ्रुबेँसी पूरै बगायो भनेपछि सबै भाग्न थालेँ ।’ उनले चिन्तित हुँदै दुःखले जोडेको करिब १० तोला सुन र १४ लाख भने बाढीबाट जोगाउन नसकेको बताइन् । उनले केही वर्षअघि लाखौँ रुपैयाँ खचेर एक तले पक्की घर बनाएको थियो ।
आफ्नो र वीरबहादुरको सहित १० जनाको परिवार मात्र होइन आफू बस्दै आएको टोलका करिब ३० परिवारलाई भाइको एक कलले बाढीबाट जोगाउन सकिएको दाजु रमेश गुरुङले जानकारी दिए ।
उनले भैँसेमा खानाखाजाको पसल सञ्चालन गर्दै आएका थिए । उनको व्यापार राम्रै चलेको थियो । त्यसबेला रसुवागढी नाका किनमेल गर्न, कैलाश मानसरोवर तथा गोसाइँकुण्ड तीर्थाटन गर्न जानेहरूको निकै भीडभाड थियो । रमेशलाई बिहानदेखि रातिसम्म एकछिन फुर्सद हुँदैनथ्यो ।
‘पसलमा धेरै ग्राहक आएका थिए, खाना बनाउँदै थिएँ, एक्कासी भाइको फोन आयो। सबैलाई बाढी आयो भन्दै भाग्न भनेँ,’ रमेहले त्यो क्षण सम्झिदै भने, ‘धेरैले विश्वास नै गरेनन्, विश्वास नगर्नेहरूलाई बाढीले बगायो ।’ बाढी भैँसे पुग्दासम्म रमेश चिच्याइहे । वीरबहादुरले धुञ्चेबाट फोन गरेपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा जति लागेको उनको ठम्याइ छ ।
ज्यान जोगाउन त्यो पर्याप्त समय रहेको रमेशले बताए । समय सदुपयोग भने आफ्नो कुरा पत्याउनेको हकमा मात्रै लागू भएको उनले अनुभव सुनाए । अन्यत्रभन्दा भैँसेमा मानवीय क्षति कम भएको रमेशले बताए ।
तर, वीरबहादुर र रमेशको परिवार पनि यतिबेला शोकमा डुबेको छ । उनीहरूको परिवारको एक सदस्य तेराना तामाङलाई भने बाढीले बगायो । उनी त्रिशूली अस्पतालमा नर्स थिइन् । तर अघिल्लो राति उनी शोलेस्थित घर गएकी थिइन् । अर्को बिहान घरबाट अस्पताल पुग्नै पाएनन् । ‘सबै शोकमा छन्, एकले अर्कोलाई हेरेर चित्त बुझाउनु परिरहेको छ,’ रमेशले भने ।
भदौ १० गते भोटेकोशीमा बाढी गएपछि नुवाकोटको अति प्रभावित क्षेत्र भैँसेका १५० जना विस्थापितलाई नजिकैको सुरक्षित स्थानमा होल्डिङ सेन्टरमा राखिएको रमेशले बताउँछन् । उनसँग छ परिवार भने भैँसेमाथिको गैरीखर्कमा आफन्त कहाँ आश्रय लिएर बसेको छ । सरकारले विस्थापितलाई राहत सामग्री उपलब्ध गराइरहेको उनले जानकारी दिए ।
विदुर नगरपालिका १० का वडाध्यक्ष गणेशकुमार नेपालले बाढीबाट आफ्नो वडा अत्यधिक प्रभावित भएको बताउँछन् । उनका अनुसार सो वडामा बाढीबाट २५६ परिवारका एक हजार २०० जना प्रभावित भएका जानकारी दिए । उनका अनुसार बाढीमा परेर २३९ जना बेपत्ता भएका छन् ।
वडाध्यक्ष नेपालले विस्थापित भएकाहरूलाई गेल्फुटारस्थित सुन्दरीकेउरिनी माविमा राखिएको छ । बाढीमा परेर स्थानीय उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थी बेपत्ता भएका उनले बताए । उनका अनुसार बेपत्ताको तथ्यांक संकलन भइरहेको छ ।