काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा अपराजित बन्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको छ । डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै नकआउट चरण पुगेको हो ।
जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एक एक गोल गरे । जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काए ।
खेलको १९औँ मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । ३१औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
खेलको ५५औँ मिनेटमा जोर्डनका अल तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औँ मिनेटमा गोल गरे । योसँगै जारी प्रतियोगितामा उनले ६ गोल गरे । साथै, उनको नाममा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए । उनले ६ विश्वकप खेल्दै गोल संख्या १९ बनाए ।
समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोडे । समान ४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे ।