काठमाडौं । भेनेजुएलामा आएको दुई वटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ । हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ ।
सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् ।
काराकासका बासिन्दाहरूले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भने, ‘गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजारभन्दा बढी मानिस बेपत्ता छन्। यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवनहरू ध्वस्त पारेका छन् ।’
राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनमा क्षति पुर्याएको थियो ।
आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले टेलिभिजन सम्बोधनमा शुक्रबार राति ८ बजेदेखि क्षतिग्रस्त क्षेत्रमा प्रवेश प्रतिबन्धित गरिएको घोषणा गरेका छन् ।