‘घण्टी बजाउने भिक्षु’ नभएको भन्दै प्रचण्डले भनेः एमालेसँग सहकार्य हुन्छ, मेरो क्रमभंग हेरेर अघि बढ्नुस्

0 Shares

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्य हुने घोषणा गरेका छन् । विराटनगरमा आयोजित प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग तत्काल एकता नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता हुने बताएका हुन् ।

उनले भने, ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदै छ, पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’

प्रचण्डले तत्काल एमालेसँग पार्टी एकता नहुने स्पष्ट पारे । उनले भने, ‘एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ, सडक सङ्घर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्‍याउन सकिन्छ, पार्लियामेन्टमा हामी एउटा शक्तिको साथ उपस्थित हुन सकिन्छ ।’

यस क्रममा उनले कार्यकर्ताहरूलाई बोल्ड भएर अगाडि बढ्न निर्देशन दिए । आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताए ।

‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका हौँ, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरी अगाडि आउनु, र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ, प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस्,’ उनले भने ।

सम्बन्धित समाचार