दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै

0 Shares

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले आफ्नो निजी लगानीमा घरमै आधारित दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी छन् । विगत सात वर्षदेखि करिब रु आठ लाखको लगानीमा उहाँले सानीडाँडा फुलबारी दुनाटपरी उद्योगमार्फत सफलतापूर्वक व्यवसाय सञ्चालन गरिरहेको बताइन् ।

सुरुमा सामूहिक लगानीमा सञ्चालन गरिएको सो उद्योगबाट व्यवसायिक यात्रा सुरु गरेको बताउँदै मगरले व्यवसाय विस्तार हुँदै गएपछि व्यक्तिगत लगानीमा थप सुदृढ रूपमा अघि बढाएको बताइन् । उनले भनिन्, “अनुदानसहित करिब रु एक लाख ५० हजारको लगानीमा गाउँका २० जना महिलासँग साझेदारी गरेर उद्योग सुरु गरेका थियौँ । पछि काम सिक्दै जाँदा र आम्दानी राम्रो हुन थालेपछि अहिले एक्लै यो व्यवसाय सञ्चालन गर्दै आएकी छु ।”

राहदानी बनाएर वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकी उनले आर्थिक अवस्थाका कारण विदेश जाने सोच त्यागेर स्वदेशमै स्वरोजगार बन्ने निर्णय गरेको बताइन् । अहिले उनले स्वरोजगारसँगै स्थानीय पाँच जना महिलालाई समेत रोजगारी प्रदान गरिरहेको बताइन् । उनका अनुसार दुनाटपरी उद्योगबाट मासिक करिब रु दुई लाख ७० हजार बराबरको कारोबार हुँदै आएको छ ।

उद्योग सञ्चालनका क्रममा कच्चापदार्थ, कामदारको तलब तथा घरायसी खर्च कटाएर मासिक रूपमा करिब रु ३५ हजार बचत हुने गरेको उनले जानकारी दिइन् । उनले भनिन्, “परिवारमा श्रीमान्, एक छोरी र एक छोरा छन् । छोराछोरीको शिक्षा–दीक्षाको सम्पूर्ण खर्च यही व्यवसायले धानेको छ ।” उद्यमी मगरले थप भनिन्, “सुरुमा आर्थिक अवस्था अत्यन्त कमजोर थियो, खान–लाउन पनि कठिनाइ थियो । अहिले श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ, म भने यही व्यवसाय सम्हालिरहेकी छु । अहिले आर्थिक अवस्था सुधारिएको छ र छोराछोरीलाई राम्रो विद्यालयमा पढाइरहेकी छु ।”

उनले उद्योग सञ्चालनसँगै स्थानीय महिलाहरूलाई दुनाटपरी बनाउने तालिम पनि प्रदान गर्दै आएको बताइन् । वडास्तरीय कार्यक्रममार्फत उनले विभिन्न स्थानका महिलालाई तालिम दिँदै सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् । हालसम्म धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० भन्दा बढी महिलाले उनीबाट प्रशिक्षण प्राप्त गरिसकेको उनले जानकारी दिइन् ।

उनका अनुसार उद्योगबाट दैनिक करिब तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको छ । दुना रु चार र टपरी रु एकमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया तथा पोखरासम्म पठाइने गरिएको बताउँदै उनले सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको बताइन् ।

उद्यमी मगर सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट महिला उद्यमीका रूपमा छनोट भई गत वर्ष सम्मानित भएको स्मरण गरिन् । उद्योग विस्तारका लागि स्थानीय तथा प्रदेश सरकारबाट थप सहयोग र अनुदान प्राप्त भएमा व्यवसायलाई अझ विस्तार गर्ने आफ्नो योजना रहेको उनले उल्लेख गरिन् ।

सम्बन्धित समाचार