काठमाडौं । भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर सवार हेलिकोप्टरले अनुमति बिना नेपालको आकाश प्रवेश गरेको छ । उक्त हेलिकोप्टर गत मंगलबार दार्चुलाको आकाश हुँदै कालापानी क्षेत्रको गुञ्जीतर्फ गएको बताइएको छ। हेलिकोप्टर नेपाली भूमिमा अवतरण भने गरेको थिएन ।
अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशको विमान वा हेलिकोप्टरले अर्को देशको हवाई क्षेत्र प्रयोग गर्नुअघि अनुमति लिनुपर्छ । अनुमति बिना गरिएको प्रवेशलाई हवाई क्षेत्र उल्लंघन मानिन्छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग यस विषयमा मौखिक रूपमा कुरा भइसकेको जानकारी दिए । आवश्यकता परे औपचारिक पत्राचारसमेत गरिने उनले बताए ।
‘हेलिकोप्टर नेपाली भूमिमा बसेको छैन। तर नेपाली आकाश प्रयोग गरेको देखिन्छ। यसबारे भारतीय पक्षलाई जानकारी गराएका छौं,’ पौडेलले भने। प्रशासनका अनुसार उक्त दिन मौसम सामान्य थियो । उडान मार्ग परिवर्तन गर्नुपर्ने कुनै विशेष कारण देखिएको थिएन । साथै भारतीय पक्षबाट उडानबारे कुनै पूर्वजानकारी पनि दिइएको थिएन ।
यस विषयमा पिथौरागढस्थित भारतीय प्रशासनसँग थप जानकारी माग्ने तयारी भइरहेको छ । दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटना नयाँ भने होइन। यसअघि पनि यस्ता घटना सार्वजनिक भएपछि नेपाल सरकारले भारतलाई कूटनीतिक रूपमा ध्यानाकर्षण गराएको थियो।