काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ।न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले पुनरावलोकन सुनुवाइ गर्दै यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेको हो ।
यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध पुनरावलोकन भएपछि सर्वोच्चले पुनः सुनुवाइ गर्दै सजाय बढाएर १० वर्ष कायम गरेको हो । व्यापारी श्रेष्ठको हत्या प्रकरणमा आएको पछिल्लो फैसलासँगै यसअघि भएको निर्णय संशोधन भएको छ । अदालतले पुनरावलोकनबाट बटालाको सजाय अवधि बढाउँदै १० वर्ष कैद हुने फैसला गरेको जनाएको छ ।
०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्याइएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।