पूर्वगृहमन्त्री गुरुङले भने– सरकारले मलाई गृहमन्त्री बनाए बधाई दिन र तस्बिर खिच्न नआउनु

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता पूर्वगृहमन्त्री सुधन गुरुङले आफू पुनः गृहमन्त्री बने दुई महिनासम्म आफूलाई बधाई दिनका लागि मन्त्रालय नआउन भनेका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सुरुका दुई महिना तस्बिर खिच्न र बधाई दिनका लागि नआउन भनेका हुन्।

‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने। आफू छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी रहेको र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने उनको भनाइ छ।

यस्तै उनले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ,’ उनले भने, बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।’

बयानका क्रममा समितिले ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ? भनेर प्रश्न गर्दा आफूले पनि प्रतिप्रश्न गरेको भन्दै गुरुङले भने, ‘ मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।’

उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको बताए ।

सम्बन्धित समाचार