काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा १ मतले यदुनाथ अधिकारी विजयी भएका छन्। शनिबार भएको अधिवेशनमा सभापतिका अर्का उम्मेदवार एकराज न्यौपानेलाई अधिकारीले १ मतले पराजित गरेका हुन्।
सभापति निर्वाचित अधिकारी यसअघि पनि रास्वपा कास्कीका सभापति थिए भने अर्का उम्मेदवार न्यौपाने प्रदेश समितिको जनसम्पर्क विभाग प्रमुख थिए। सभापतिमा निर्वाचित अधिकारीले ११५ मत पाएका थिए भने उनका प्रतिस्पर्धी न्यौपानेले ११४ मत पाएको निर्वाचन प्रमुख शंकर पन्तले बताए। अधिवेशनबाट सचिवमा १२२ मत पाएर विश्वराज पौडेल निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी टेकराज सापकोटाले १०५ मत पाएका थिए।
यस्तै, सदस्यहरूमा भेषराज तिमिल्सिना, लक्ष्मी पौडेल, श्याम गुरूङ र सीता चापागाईं निर्वाचित भएका छन्।
सभापति, सचिव र ४ जना सदस्य पदमा निर्वाचन भए पनि अन्य पदमा भने सहमति भएको थियो।