काठमाडौं । लेबनानमा जारी इजरायली आक्रमणबीच इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जनाएको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउँदै आगामी जुन २ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिए । यसैबीच, मे २९ मा पेन्टागनमा ‘सुरक्षा ट्र्याक’ सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारी उपस्थित हुने जनाइएको छ ।
छलफलले दुई देशबीच स्थायी शान्तिलाई अगाडि बढाउने, एक अर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पूर्ण मान्यता दिने र उनीहरूको साझा सीमामा वास्तविक सुरक्षा स्थापना गर्ने पिगटलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।
इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएपछि युद्व विराम प्रयास गरिएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजिराले रिपोर्ट गरेको छ ।
लेवनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार ९५१ जनाको मृत्यु भएको छ । यद्यपि, जारी शान्ति वार्ताको बिचमा, हेजबुल्लाहले बुधबार दक्षिणी लेबनानमा इजरायली सैन्य केन्द्र सवारी साधनलाई लक्षित गरी १७ वटा अपरेसन गरेको इरानी मिडियाले जनाएको छ ।
अपरेसनमा आठ वटा ड्रोन आक्रमण, पाँच वटा क्षेप्यास्त्र वा रकेट आक्रमण, एउटा तोपखाना आक्रमण र एउटा निर्देशित क्षेप्यास्त्र प्रक्षेपण समावेश रहेको मिडियाले जनाएको छ ।
यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत केही समयअघि दक्षिणी लेबनानमा आईडीएफ सैनिक क्षेत्रमा पहिचान गरिएको हवाई लक्ष्यतर्फ इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ ।