एसईईको रिजल्ट हेर्दा मार्कसिट किन देखिएन ?

0 Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गएराति सार्वजनिक गरेको शैक्षिक सत्र- २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हेर्दा मार्कसिट हेर्न नपाएको गुनासो विद्यार्थीले गरेका छन्।

विगतका वर्षमा रिजल्ट सार्वजनिक हुनासाथ वेबसाइटहरूले विद्यार्थीको मार्कसिटसहितको विवरण सार्वजनिक गर्थे। तर, यसपटक धेरै विद्यार्थीले अहिलेसम्म मार्कसिटसहितको विवरण हेर्न पाएका छैनन्।

परीक्षा बोर्डले एसईई नतिजा एसएमएस, आईभीआरसँगै १४ वटा वेबसाइटबाट हेर्न सकिने जनाएको छ। बोर्डले एसईई नतिजा प्राप्त गर्ने १४ वटा वेवसाइटका सूचीसमेत सार्वजनिक गरेको छ। तर, धेरै वेबसाइटहरूले विद्यार्थीको मार्कसिटसहितको नतिजा देखाएका छैनन्।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक तुकराज अधिकारीले बोर्डले नेपाल टेलिकम (एनटीसी) सँग विद्यार्थीको मार्कसिटसहितको नतिजा देखाउने गरी सम्झौता गरेको बताए।

‘एसईईको नतिजा देखाउँदा मार्कसिटसहितको विवरण देखाउने भनेरै उहाँहरूसँग एग्रिमेन्ट भएको हो। किन देखाएनन् हामी बुझ्ने छौँ,’ उनले भने, ‘हामीले हिजै उहाँहरूलाई विद्यार्थीको मार्कसिटसहितको सबै विवरण उपलब्ध गराएका छौँ।’

बेवसाइटहरुले सेटिङ कम्प्लिट गर्न नसकेको कारण यस्तो समस्या आएको हुनसक्ने उनको भनाइ छ।

‘राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटले पनि विद्यार्थीको मार्कसिट देखाएको छैन नि ?’ यो प्रश्नमा परीक्षा नियन्त्रक अधिकारीले भने, ‘हाम्रो वेबसाइटमा चाहिँ मार्कसिट अपलोड गर्नै बाँकी छ। मैले अघि हेर्न खोज्दा पनि देखाएन। अब आईटीका साथीहरू आएपछि त्यो समस्या हल हुन्छ। एनटीसीलाई त हामीले हिजै सबै विवरण दिएका छौँ। टेक्निकल्ली के समस्या भएको हो, म सोधेर जानकारी गराउने छु।’

सम्बन्धित समाचार