न्यूयोर्क । मध्यपूर्व तनाव चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेको छ। इरान माथि संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दी थप लम्बिन सक्ने संकेतसँगै आपूर्ति अवरोधको चिन्ता बढ्दा तेल मूल्यमा निरन्तर वृद्धि देखिएको हो।
अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य बढ्दै प्रति ब्यारेल ११९ डलर नाघेको छ भने केही समयमा १२० डलर नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि १०० डलर माथि कारोबार भइरहेको छ। पछिल्ला आठ दिनमध्ये सात दिन तेलको भाउ बढ्नुले बजारमा असन्तुलन बढ्दै गएको संकेत गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमाथिको समुद्री नाकाबन्दी तत्काल हटाउने संकेत नदिँदा तेल आपूर्ति लामो समयसम्म प्रभावित हुने आशंका बलियो बनेको छ। द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प प्रशासनले इरानको तेल निर्यातमा थप दबाब सिर्जना गर्न जहाज आवतजावत नियन्त्रण गर्ने रणनीति अपनाएको छ।
विशेषगरी विश्वकै महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुजमा अवरोध उत्पन्न हुँदा आपूर्ति श्रृंखला प्रभावित भएको छ। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गर्दछ। इरानले नाकाबन्दीको प्रतिकारस्वरूप उक्त क्षेत्रमा जहाज आवतजावतमा अवरोध जारी राख्ने संकेत दिएको छ।
ऊर्जा क्षेत्रका विश्लेषकहरूका अनुसार इरानको निर्यात घट्नु र वैकल्पिक आपूर्ति तत्काल बढ्न नसक्नुले दैनिक लाखौँ ब्यारेल तेल अभाव हुन सक्ने अवस्था देखिएको छ। नाकाबन्दी लम्बिँदै गएमा मूल्य अझै माथि जाने सम्भावना रहेको उनीहरूको आकलन छ।
यता, विश्वव्यापी रूपमा हवाई इन्धन तथा पेट्रोकेमिकल क्षेत्रमा माग केही कमजोर भए पनि आपूर्ति संकटका कारण मूल्य घट्ने अवस्था छैन। तेल मूल्यको यो उकालोले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ, विशेषगरी आयातमा निर्भर देशहरूमा महँगी थप बढ्ने जोखिम छ।
यसबीच, ऊर्जा क्षेत्रका उच्च अधिकारीहरूले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरी अमेरिकी उपभोक्तामा पर्ने असर न्यून गर्ने उपायबारे छलफल गरेका थिए। तर बजारले यसलाई नाकाबन्दी दीर्घकालीन हुने संकेतका रूपमा लिएको छ।
मध्यपूर्व तनावको प्रभाव इरानको आन्तरिक अर्थतन्त्रमा पनि देखिन थालेको छ। इरानको वार्षिक मुद्रास्फीति दर ५३.७ प्रतिशत पुगेको छ भने राष्ट्रिय मुद्रा ‘रियाल’ ऐतिहासिक न्यून स्तरमा झरेको छ। युद्ध र नाकाबन्दीका कारण करिब २० लाख मानिसले रोजगारी गुमाएको जनाइएको छ।
अन्ततः, अमेरिका र इरान बीचको द्वन्द्व समाधानतर्फ नजाँदासम्म ऊर्जा बजारमा अस्थिरता कायम रहने र तेल मूल्यमा थप दबाब आउने संकेत देखिएको छ।