भारतलाई ट्रम्पले ‘नरक’ भनेपछि चर्कियो कूटनीतिक विवाद

0 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्ध जटिल अवस्थामा पुगेको छ । भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको जनाएको छ ।

बुधबार राति ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थामाथि आलोचना गरिएको थियो । पोस्टमा विशेषगरी भारतीय आप्रवासीलाई लक्षित गर्दै उनीहरूले अमेरिकी मूल निवासीलाई रोजगारी नदिने र अङ्ग्रेजी भाषामा दक्षता नभएको आरोप लगाइएको थियो । त्यस्तै, भारतलाई ‘नरक’ भन्दै गरिएको टिप्पणीले थप विवाद निम्त्याएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ती अभिव्यक्तिलाई ‘स्पष्ट रुपमा अज्ञात, अनुपयुक्त र खराब स्वादमा’ भएको प्रतिक्रिया दिए । उनले यस्ता भनाइहरूले भारत–अमेरिका सम्बन्धको वास्तविक स्वरुप झल्काउन नसक्ने बताउँदै दुई देशबीचको सम्बन्ध दीर्घकालीन आपसी सम्मान र साझा हितमा आधारित रहेको उल्लेख गरे ।

यसैबीच, भारतीय मूलका अमेरिकी डेमोक्रेट सांसद अमी बेराले पनि ट्रम्पको टिप्पणीको आलोचना गर्दै यसलाई ‘आपत्तिजनक, अज्ञानी र पदको गरिमाभन्दा तल’ रहेको बताए । उनले ट्रम्पले आप्रवासी परिवारहरूले भोग्ने संघर्ष कहिले अनुभव नगरेको टिप्पणी गरे ।

हिन्दू अमेरिकन फाउन्डेसनले समेत उक्त पोस्टप्रति आपत्ति जनाउँदै यसलाई ‘घृणित र जातिवादी अभिव्यक्ति’ को संज्ञा दिएको छ । संस्थाले यस्तो अभिव्यक्तिले समाजमा विद्यमान जेनोफोबिया र जातीय विभाजनलाई अझ बढावा दिने चेतावनी दिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला यस्तो विवाद सतहमा आउनु अर्थपूर्ण मानिएको छ । कूटनीतिक वृत्तमा यसलाई दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयासका लागि चुनौतीका रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार