खाडी जाने कामदार भन्छन्ः साथीले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ

0 Shares

काठमाडौं । छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतारा नआउनु सझुाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशीक रोजगार नगइ सुख छैन ।

युद्धको प्रवाह नगरी उनी दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै छन् । उनी भन्छन्, ‘साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ ।’ उनी घर आएको हप्ता दिनमा अमेरिका-इजराइल र इरानबीचको युद्ध सुरु भएको थियो । सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उनी सुनाउँछन् ।

होटलमा सेफको जागिर गरेर उनले मासिक दुई लाख आम्दानी गर्दै आएका छन् । जुन रकम उनले घर चोखो पठाउँछन् । गाउँमा बस्दा जति सुकै मिहिनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशको आयको गतिलो गन्तव्य रहेको उनले सुनाए । मार्च २५ तारिखमा कतार प्रस्तान गर्न लागेका उनले भने, ‘जे त होला भनेर जाँदै छु, यहाँ बसेर के गर्नु आम्दानी छैन ।’

युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाहरूको बाध्यता छन् । विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतिक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो । फर्किने अवस्था नरहेको उनकी श्रीमती रुमा बताउँछिन् ।

छोराछोरीसहित काठमाडौंमा बस्दै आएकी काभ्रेकी रुमाले श्रीमानलाई फर्किनु भने पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताउँछन् । उनी भन्छिन्, ‘घर आएर छोराछोरी र तिमीलाई कसले पाल्छ? बाध्यताले त्यही बस्नुभएको छ ।’ रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उनीलाई खाडीमा जोखिम मोलेर मजदुरी गर्दै आएका छन् ।

साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरेले सरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेसँगै खुसी छन् । श्रम स्वीकृत रोकिँदा काम गर्न जान नपाइने हो की भन्ने चिन्ताले सताएको उनी बताउँछन् । उनले भने, ‘उता गए, ज्यानको डर यता बसे परिवार पाल्न नसकिने डर, गरिबलाई जता सुकै डरै डर छ ।’

यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् । उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएकाले आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेविया, युएइ, कतार, कुबेत, बहराइन, ओमन, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजराइलसहित देशमा श्रम स्वीकृति स्थगन गरेको थियो ।

वैदेशिक रोजगार विभागमा चैत ३ गते रोकिएको श्रम स्वीकृति खुला भएपछि वैदेशिक रोजगारमा पुनः जाने श्रमिकको चाप बढेको छ । विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खीलराज राईले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दैनिक हजारदेखि एक हजार १०० सम्म रहेको जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठका अनुसार रोजगारीमा जानु र सुरक्षित भएर बस्नु अहिले युद्ध क्षेत्र ग्रस्त कामदारहरूको चुनौती छ । उनका अनुसार नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षा सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ ।

श्रमिकहरूको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको माग अनुसार परराष्ट्र मन्त्रालयले चैत ३ सिफारिस गरे बमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरिएको जनाएको छ ।

विज्ञप्ति जारी गरेर मन्त्रालयले स्थगन भएका मुलुकमध्ये साउदी अरेविया, युएइ, कतार, ओमान, यमन, जोर्ड, टर्कीमा कार्यरत नेपाली श्रमिकलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यद्यपी सरकारले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान देशमा भने श्रम स्वीकृति स्थगन रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार बिदामा घर आएका र रोजगारमा पुनःजान चाहने नेपाली कामदारका लागि भनेर निश्चित देशमा श्रम स्वीकृति दिएको छ । घर फर्किन चाहनेसँगै श्रम गर्न पुनःविदेश जाने नेपालीको भावना सम्बोधन गर्न आवश्यक देखिएको उनले सुनाए ।

सम्बन्धित समाचार