श्रीलंकमा इन्धन संकट, सरकारी कार्यालय थप एक दिन बन्द हुने

0 Shares

काठमाडौं । श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने भएको छ ।

मंगलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था लागू गरिने भएको छ ।

आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीले सार्वजनिक गरेको जानकारी अनुसार सबै सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालतहरू पनि बुधबार बन्द रहने छन् ।

तर, स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।

सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकताका आधारमा बाँकी चार कार्य दिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ ।

यससँगै इन्धन संकटलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रम स्थगित गरेको छ । साथै निजी क्षेत्रका संस्थालाई पनि सम्भव भएसम्म यस्तै व्यवस्था अपनाउन सरकारको अनुरोध रहेको छ ।

सम्बन्धित समाचार