प्युठानी जनताको हक, हित र समृद्धि पहिलो संकल्प हो : कृष्णध्वज खड्का

0 Shares

अगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनको मतदान गर्न जम्मा ६ दिन मात्रै वाँकी छ । चुनावकै दौरान नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट प्रभावशाली नेता कृष्णध्वज खड्काले उम्मेदवारी दर्ता गरेपछि चुनावी प्रचारप्रसारलाई आक्रमक बनाएका छन् । तत्कालीन माओवादी जनयुद्धमा कठोर यातना पाएका खड्का यसअघि लुम्बिनी प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालीसकेका छन् । चुनावी प्रचारप्रसार, चुनावी रणनीति र प्युठानको विकास निर्माणका विषयमा केन्द्रीत भई नेकपा उम्मेदवार खड्कासँग खबर विन्दु डटकमका भुपिन ओलीले गरेको कुराकानीको सम्पादित अंशः

अहिले चुनावी संघारको अन्तिम चरणमा पुगेको छ । तपाईंको चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ?
चुनावी प्रचार–प्रसारका लागि हामी विभिन्न टोलीहरू बनाएर वडा वडामा जनताको दैलोदैलोमा गइरहेका छौँ। पार्टीको तर्फबाट घर–घरमा पुगेर मतको लागि अनुरोध गर्ने काम भइरहेका छन् । यसका अलावा सञ्चार माध्यम र सामाजिक सञ्जालबाट पनि प्रचार भइरहेका छन् । अहिलेको मुख्य एजेन्डाहरूलाई जनताको घरदैलोमा पु¥याउने र उम्मेदवारको विषयमा जानकारी गराउने काम भइरहेको छ। प्युठानी जनताले हामीलाई अत्यन्तै सकारात्मकढंगले स्वागत गर्नुभएको छ साथै उत्तिकै समर्थन जनाइराख्नुभएको छ।

तपाईको प्युठानी जनताका लागि प्रमुख एजेन्डाहरू के–के उठाउनुभएको छ ?
राष्ट्रिय रूपमा हाम्रो वैचारिक र राजनीतिक एजेन्डा भनेको सामाजिक न्याय, सुशासन, समृद्धि र युवाहरूको आवाजलाई सम्बोधन गर्नु हो। देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु हो । जसरी उक्त मुद्धालाई लिएर जेनजी आन्दोलन भयो त्यो मुद्धालाई हामीले सम्बोधन गर्नुपर्ने छ । राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास हाम्रा मुख्य राजनीतिक एजेन्डा हुन् । यस्तै संविधान संशोधन गर्न पार्टीको बहुमत चाहिएको छ । देशमा राजनीतिक अस्थिरता भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुापतिक लगायत संविधान संशोधन गर्न पार्टीलाई बहुमत चाहिएकाले मलाई निर्वाचित गर्नुपर्ने अवस्था छ ।

अर्को कुरा प्युठानको हकमा समृद्धिको नयाँ चरणमा प्रवेश गराउने हाम्रो लक्ष्य छ। प्युठानका ठूला आयोजनाहरू सडक, खानेपानी, सिँचाइ, पर्यटन, पूर्वाधार सम्पन्न गर्ने र कृषिलाई व्यवसायीकरण तथा बजारीकरण गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने एजेन्डाहरू हामीले जनतासमक्ष प्रस्तुत गरेका छौँ। जनताको आधारभुत आवश्यकताको रुपमा रहेको शिक्षा स्वास्थ्यको पूर्वाधार निर्माणसँगै गुणस्तीय बनाउनुपर्ने छ ।

तपाईलाई प्युठानी जनताले कि मत दिएर रोज्नुपर्ने हो ?
मुख्य कुरा, म पञ्चायतकाल देखि नै देशको राजनीतिक परिवर्तनका लागि लड्दै आएको व्यक्ति हुँ। संविधान निर्माणसम्म मेरो अग्रभागमै रहेर योगदान गरे । तर, मेरो राजनीतिक जीवनमा अहिलेसम्म संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएको छैन। अरू उम्मेदवारहरूले के गर्नुभयो भन्ने जनताले देखिसकेका छन्। त्यसैले, मेरो यो लामो राजनीतिक लडाइँ र संघर्षलाई कदर गर्दै यसपटक केन्द्रमा प्रतिनिधित्वको अवसर मलाई दिनुपर्छ भन्ने प्युठानी जनतासँग अपिल छ ।

तपाईं लुम्बिनी प्रदेशको अर्थमन्त्री पनि हुनुभयो। त्यो समयमा प्युठानी जनताको निम्ति के–के काम गर्नुभयो ?
म आफै प्रदेशको अर्थमन्त्री भए । रेखा शर्मा जी दाङबाट प्रतिनिधित्व गरे पनि प्युठान घर भएकाले धेरै काम भएका छन् । प्युठानका ६४ वटै वडाहरूमा विकास निर्माणका काममा जोडियौँ। कुनै यस्तो टोल बस्ती छैन जहाँ हाम्रो योगदान नपुगेको होस्। शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, र तटबन्धजस्ता साना देखि ठूला कामहरू भएका छन्।

विशेषगरी प्युठान जिल्ला अस्पताल, भालुवाङ–भीङ्ग्री सडकको विस्तार, क्याम्पसका भवनहरू, पर्यटकीय स्थलहरू स्वर्गद्वारी, गौमुखी, एरावती, कोटहरू जस्ता स्थानमा पूर्वाधार निर्माणमा हामीले काम गरेका छौँ। साथै बाढी पहिरो र कोभिड जस्ता आपतकालीन अवस्थामा पनि म प्रत्यक्ष रूपमा जनताको राहत र उद्धारमा खटिए । अझै पनि प्युठानी जनतालाई समस्या पर्दा उभिन्छु भन्ने प्रतिवद्धतता छ ।

अब मतदान गर्न छ दिन मात्र बाँकी छ, अन्त्यमा प्युठानी जनतालाई के भन्न चाहनुहुन्छ ?
प्युठान स्वाभिमान, आत्मसम्मान, त्याग र बलिदानको गाथा बोकेको जिल्ला हो। अहिले देश अप्ठ्यारो अवस्थामा छ, हामीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्दै विकासको बाटोमा अघि बढ्नु छ। विगतका कमी–कमजोरीलाई नदोहो¥याउने प्रतिबद्धता सहित हाम्रो पार्टी जनता माझ आएको छ। प्युठानलाई समृद्धि र विकासको नयाँ चरणमा लैजान र मेरो लामो राजनीतिक संघर्षका विचार र भावनालाई केन्द्रमा पु¥याउन मलाई एकपटक अवसर दिनुहोस् भनी प्युठानी जनतासँग विशेष अपिल र अनुरोध गर्दछु।

सम्बन्धित समाचार