नेपाली कांग्रेसका पूर्वसभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार मध्येराति स्वास्थ्य उपचार गर्न सिंगारपुर प्रस्थान गरेका छन् । पूर्वसभापति देउवासहित पत्नी आरजु राणा देउवा र स्वकीय सचिव भानु देउवा भ्रमणमा सहभागी छन् । आगामी फागुन २१ गतेको निर्वाचन आउन एक साता बाँकी छ । चुनावको मुखमा पूर्वसभापति देउवा सिंगारपुरतिर लागेपछि अनेक कोणबाट विश्लेष्णण हुन थालेको छ ।
पार्टीको तर्फबाट पाँच पटक प्रधानमन्त्री र दुई पटक सभापति भइसकेका देउवा विदेश जाँदा चुनावमा असर पर्न सक्ने कांग्रेस नेता कार्यकर्ता बताउँछन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता कांग्रेस चुनावमा पराजित भएपछि देउवामाथि थ्रेट हुन सक्ने भएकाले उम्किन भागेको टिप्पणी गर्न थालेका छन् । देउवा विदेश गएपछि विविध आशंकाबीच खबर विन्दुकर्मीले कांग्रेसका प्रवक्त देवराज चालिसेसँग गरेको कुराकानीको सम्पादित अंशः
निर्वाचन नजिकिएसँगै पार्टीको चुनाव प्रचारप्रसार तीव्र गतिमा भइरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा सिंगापुर गएको विषयलाई पार्टीले कसरी हेरेको छ ?
उहाँ पूर्वसभापति हुनुहुन्छ । यो भ्रमणलाई विभिन्न दृष्टिकोणले हेर्नुपर्छ । उहाँको आफ्नो इच्छा, स्वास्थ्य र व्यक्तिगत कारणहरू हुन सक्छन् । उहाँको उमेर र शरीरको अवस्थाका कारण पनि सीमाहरू निर्धारण गर्छन् । उहाँ नियमित स्वास्थ्य चेकजाँच, विशेष गरी पेटसम्बन्धी समस्याका लागि जानुभएको हो । राजनीतिक रूपमा उहाँ एक हिसाबले ‘निवृत्त’ भइसकेको अवस्था हो । उहाँलाई ‘नो मोर पोलिटिक्स’को इच्छा हुन सक्छ । मानिसको निजी स्वतन्त्रता र अधिकारको कुरा पनि हुन्छ । यसलाई हामीले सम्मान गर्नुपर्छ ।
चुनावको मुखमा उहाँ यसरी बाहिर जाँदा पार्टीलाई असर गर्छ कि गर्दैन ?
यसका दुई वटा पाटा छन् । एउटा उहाँ (शेरबहादुर)को स्वास्थ्य र उमेरका कारणले सक्रिय राजनीतिबाट विश्राम लिनु भएको छ । अब उहाँलाई जबर्जस्ती तानेर ल्याउन मिल्दैन । उहाँको निजी स्वतन्त्रतालाई हामीले विवेकपूर्ण रुपमा हेरेर सम्मान गर्नुपर्छ ।

तर, तत्कालको नेतृत्व र उहाँको ‘इमिडेट आउटगोइङ प्रेसिडेन्ट’को हैसियतले हेर्दा केही प्रश्नले अवश्य केही प्रश्न उठ्छन्, त्यो स्वभाविक हो । अधिकारको कोणबाट हेर्दा उहाँ जान पाउनुहुन्छ । तर, राजनीतिक माहोलमा पार्टीभित्र उहाँको उपस्थितिको अपेक्षा हुनु स्वाभाविक हो ।
आगामी निर्वाचनमा कांग्रेसको भोटमा यसले कस्तो प्रभाव पर्छ ?
उहाँको भ्रमणले ठूलो प्रभाव पार्ला भन्ने मलाई लाग्दैन । किनभने, कांग्रेस भनेको आफ्नै मूल्य मान्यतामा आधारित पार्टी हो । यो लोकतान्त्रिक संस्कार बोकेको पार्टी हो । यहाँ व्यक्तिभन्दा ‘मूल्य’ नै प्रमुख रहेको हुन्छ ।
कांग्रेसका धेरैजसो कार्यकर्ता र शुभचिन्तक आफ्नो स्वतन्त्रता र लोकतन्त्रप्रतिको गहिरो रुचिका कारण पार्टीसँग जोडिनु भएको छ । प्राप्ति वा अप्राप्तिले मात्र उहाँहरूको संलग्नता निर्धारण गर्दैन । त्यसैले उहाँको अनुपस्थितिले नै पार्टीको आधार भत्किने होइन ।
विशेष महाधिवेशनपछि उहाँ (शेरबहादुर) पनि केही बोल्नुभएको थिएन। चुनावमा उहाँको अनुपस्थितिले मतदाता वा कार्यकर्तामा कस्तो सन्देश जान्छ?
उहाँको अनुपस्थितिले कार्यकर्ताको चित्त दुख्न सक्छ । कमी महसुस हुन सक्छ । त्यो मानवीय स्वभाव हो । तर, यसको अर्थ यो होइन कि कांग्रेसजनले भोट हाल्दैनन् । पार्टीलाई माया गर्नु एउटा भावनात्मक कुरा होे, मत हाल्नु एउटा ‘जिम्मेवारी’को कुरा हो । यी दुई फरक कुरा हुन् । मतदाताले आफ्नो विवेक र जिम्मेवारीपूर्ण रुपमा प्रयोग गर्छन् भन्नेमा विश्वस्त छु ।