काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवापक्ष फागुन २१ गतेको निर्वाचनमा चुपचाप भई बसेको छ । पूर्व सभापति देउवा सहित नेता पूर्णबहादुर खड्का, धनराज गुरुङ लगायत अधिकाश नेता चुनावमा कतै अभिव्यक्ति दिएका छैनन् । चुनावीमा प्रचारमा देउवापक्षका नेताहरु देखिएका छैनन् ।
पार्टी सभापति गगनकुमार थापा निर्वाचित भएपछि देउवापक्षका अधिकांश नेतालाई टिकट दिएको छैन । देउवापक्षका कतिपय नेताहरु थापालाई रिझाएर टिकट लिएका छन् । देउवापक्ष सानो भए पनि चुनावमा सक्रिय नहुँदा त्यसको असर पर्र्ने नतिजामा पर्ने सम्भावना देखिएको छ । काग्रेसमा करिब साढे तीन दशकदेखि राज गरेका शक्तिशाली पात्र देउवा अचेल चुपचाप चारदिवारभित्र छन्। सारा कार्यकर्ता पङ्क्ति चुनावमा व्यस्त रहँदा उनीसँग महाराजगन्ज पुगेर भेट्न कसैलाई फुर्सद छैन। एकाधबाहेक स्वयं देउवाका सबैजसो निकटहरू नै चुनावी मैदानमा गाउँ छिरेका छन्।
दशकौँदेखि उनका अघिपछि उभिने निकट सारथिहरू समेत उम्मेदवार छन्। तैपनि देउवाले चुइँक्क बोलेका वा चल्मलाएका छैनन्। विद्यार्थी छँदै राजनीतिमा आएका निवर्तमान सभापति देउवाको यति लामो मौनता सायद पहिलो हो। स्वभावैले उनी कम बोल्नेमध्ये पर्छन्। तर कांग्रेसको विशेष महाधिवेशनपछि गुमनामजस्तै देउवाको यो चुप्पी समयको स्वीकारोक्ति होला कि रणनीतिक चालको प्रतीक्षा उनीनिकटका नेताहरूसँग पनि यसको जवाफ छैन।
हो, कांग्रेसको आन्तरिक परिस्थिति केवल गुटगत विवादको सीमाभित्र रहेन। विषय निर्वाचन आयोग र अदालतसम्म पुगिसकेपछि उनीहरूले कानुनका दफा नै पल्टाउने हो। पार्टी र कार्यकर्ताको मनोदशा खोतल्ने काम पार्टी नेतृत्वमा रहेकाहरूकै हुने हो। कांग्रेसीहरूका लागि सुखद कुरा के भयो भने यसपालि आयोगको फैसला र अदालती ‘बाइपास’ ले तत्कालका लागि कांग्रेसलाई एकै रूखमा बाँधिन सघायो। दुवै निकायको निर्णयले तत्काल चुनावको बाटोमा सोझिनुपर्ने अवस्था बन्यो, जसले पार्टीलाई थप द्वन्द्वतर्फ जानबाट तत्काललाई ब्रेक लगायो।
त्यसैले रूख चिह्न बोकेर चुनावमा होमिनुको विकल्प कांग्रेसका नयाँ र पुराना पक्षसँग थिएन। दुवैले परिस्थिति बुझे, स्वीकारे र टिकट बोकेर मैदानमा उत्रिए। अर्थात् पार्टी पङ्क्तिमा विशेष महाधिवेशनपछि भयानक हुन सक्ने फरक २ लाइन सङ्घर्षको तत्काल विराम लाग्यो। अनि चुपचाप विशेष महाधिवेशनले छानेका सभापति थापाले दिएको टिकट बोकेर सबै पक्षका नेताहरू जिल्ला फर्के। कम्तीमा फागुन २१ अघिसम्म कांग्रेस विवादमा ‘अस्थायी युद्धविराम’ दुवै पक्षबाट देखिने गरी उल्लङ्घन गर्ने अवस्था छैन।
आगामी चुनावमा कांग्रेसले सोचे जति नतिजा नल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले एक सय सिट भन्दा बढी वा एकल बहुमत याएमा कांग्रेसमा कलह बढ्ने सम्भावना देखिएको छ । थापापक्षका नेताहरुले देउवा सभापति भएर निर्वाचनमा गए पार्टी सक्किने अभिव्यक्ति दिँदै जर्बजस्त सभापतिबाट हटाएका थिए । निर्वाचनमा कांग्रेसले सोचे जति नतिजा नल्याए कांग्रेसभित्र कलह बढ्ने विश्लेष्णा हुन थालोके छ । तर, सभापति थापा आफ्नो नेतृत्वमा नयाँ टिम आएपछि पार्टीमा युवाको आक्रर्षण बढेको दाबी गर्दै आएका छन् । अब थापा सभापति भएपछि कांग्रेस बलियो भए नभएको चुनावको हप्ता दिनको नतिजाले देखाउने भएको छ ।