काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा सेयर निष्कासनको तयारीका क्रममा केयर रेटिङ नेपाल लिमिटेडबाट CARE–NP BB (Is) अर्थात् ‘डबल बी’ इस्युअर रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ नेपालले मिति २०८२ माघ १४ गतेको निर्णयअनुसार कम्पनीलाई उक्त रेटिङ प्रदान गरेको हो।
लगानी कम्पनीका रूपमा कार्यरत नेक्सजेन म्यानेजमेन्टले २०८२ पुस मसान्तभित्र संस्थापक सेयरधनीहरूबाट ५० करोड रुपैयाँ चुक्ता पूँजी जुटाइसकेको जनाएको छ। २०७४ सालमा स्थापना भएको कम्पनी विगत ६ वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ भने अघिल्ला वर्षहरूमा सेयरधनीलाई लाभांशसमेत वितरण गरिसकेको छ। कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा माथि रहेको जनाइएको छ।
कम्पनीको २०८२ माघ ५ गते सम्पन्न विशेष साधारणसभाले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गर्दै चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको थियो। सर्वसाधारणमा सेयर निष्कासनका लागि नेक्सजेन म्यानेजमेन्टले लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग मिति २०८२ मंसिर ८ गते बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता गरिसकेको जानकारी पनि कम्पनीले दिएको छ।
कम्पनीले प्राप्त गरेको ‘डबल बी’ रेटिङले नेक्सजेन म्यानेजमेन्टको वित्तीय अवस्था, दायित्व बहन क्षमता र भविष्यका दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।