काठमाडौं । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ४१ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको जियो न्युजले जनाएको छ । जियो न्यूजसँग कुरा गर्दै डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँच जना घाइते यात्रुको अवस्था गम्भीर रहेको र दुई जनालाई गिलगिट सहरमा सारिएको बताए ।
अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिए । तीव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
यसै गरी गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ताले चिलास अस्पतालमा आपतकाल लागु गरिएको घोषणा समेत गरेका छ ।