काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि देशका प्रमुख सहर जोड्ने अधिकांश आन्तरिक गन्तव्यका हवाई भाडा घटाइएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ भाडादर लागू गरेको हो।
नयाँ दरअनुसार काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँ घट्दै प्रतियात्रु चार हजार ३९० रुपैयाँ कायम भएको छ। काठमाडौं–भद्रपुरमा १८० रुपैयाँ घटेर तीन हजार ८४५ र काठमाडौं–विराटनगरमा १४० रुपैयाँ घटेर तीन हजार ७५ रुपैयाँ तोकिएको छ।
त्यस्तै, काठमाडौं–जनकपुरमा एक हजार ६४५, भरतपुरमा एक हजार ३७०, पोखरामा दुई हजार ३०, भैरहवामा दुई हजार ६३५, नेपालगन्जमा चार हजार १७०, धनगढीमा पाँच हजार ६५५, तुम्लिङटारमा दुई हजार ३६०, सिमरामा एक हजार १५०, सुर्खेतमा चार हजार ४२० र राजविराजमा दुई हजार ६१५ रुपैयाँ भाडादर कायम गरिएको क्यानले जनाएको छ।
पोखराबाट हुने उडानसहित अन्य क्षेत्रीय रुटमा पनि हवाई भाडा घटाइएको छ।