काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको समाचार रोक्न आदेश दिएसँगै सबै सामाग्री रोकेको छ ।
अदालतको अवहेलनामा कारबाही गर्नु पर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेसँगै सिधा कुराले भिडिओसहित सम्पूर्ण सामाग्री रोकेको हो । अहिले ती भिडिओहरू हेर्न र पढ्न नपाइने भएको छ ।
‘सिधा कुरामा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो श्रृङ्खलाका प्रकाशित सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ,’ सम्पादक नवीन ढुंगानाले भने ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सिधा कुरा डटकम नामक अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई अदालतको अवहेलना मुद्दामा सबुदसहित इजलासमा बयानका लागि उपस्थित हुने भनेको थियो ।