काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २४ गते बिहीबार आयोजना गर्ने भएको छ । मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको धुम्बाराहीस्थित दियो महलमा सभा गर्ने निर्णय गरेको हो ।
साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ । साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गरिनुका साथै नियमनकारी निकायबाट प्राप्त निर्देशन वा सुझावअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गरिनेछ ।