ज्योति विकास बैंकका कर्मचारीमाथिको दुर्व्यवहारप्रति सिबिफिनको कडा भर्त्सना

0 Shares

काठमाडौं । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको अमानवीय एवं हिंस्रक दुर्व्यवहारप्रति नेपाल बैंक तथा वित्तीय संस्था कर्मचारी संघ (सिबिफिन) ले कडा आपत्ति जनाएको छ।

प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसकेको विषय समाधानका लागि स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूको समूहले घण्टौँसम्म नियन्त्रणमा राखी दुर्व्यवहार र आक्रमण गरेको सिबिफिनको आरोप छ।

सिबिफिनले उक्त घटनालाई अत्यन्तै लज्जास्पद, घृणित र आपराधिक करार गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ। घटनापछि पीडितको जाहेरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएको भन्दै स्थानीय सुरक्षा निकायको भूमिकाप्रति पनि संघले गम्भीर आपत्ति जनाएको छ।

बैंक तथा वित्तीय संस्था मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सिबिफिनले कर्तव्यनिष्ठ कर्मचारीमाथि गरिएका यस्ता आक्रमणलाई बैंकिङ क्षेत्रमाथि मात्र नभई नेपाल सरकारमाथिकै आक्रमणका रूपमा लिएको जनाएको छ। संघले निहित स्वार्थका लागि बैंकिङ क्षेत्रमा अवरोध सिर्जना गर्ने, कर्जा नतिर्न दुरुत्साहन गर्ने, अफवाह फैलाउने तथा कर्मचारीमाथि भौतिक आक्रमण गर्ने कार्यहरू बढ्दै गएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

सिबिफिनले बैंकिङ सेवासम्बन्धी कुनै गुनासो भए सम्बन्धित बैंकको व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून हातमा लिने प्रवृत्तिले समग्र मुलुककै भविष्यमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ। साथै संघीय, प्रदेश र स्थानीय सरकारसहित गृह मन्त्रालयलाई बैंक तथा वित्तीय संस्था र कर्मचारीको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।

ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसोपछि जुत्ताको माला

सम्बन्धित समाचार