काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार पक्राउ प्रकरणको छानबिन गरी दोषीलाई काबारही गर्न सरकारलाई निर्देशन दिएको छ।
शनिबार बसेको रास्वपा सचिवालय बैठकले सादा पोशाकका प्रहरी समाचार कक्षमा प्रवेश पत्रकार पक्राउ तथा धरपकड गरेको घटनामा छानबिन गर्न सरकारले निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए।
सचिवालय बैठकले पत्रकारमाथिको धरकपडलाई गलत बनेको उनले बताए। ‘हिजो जुन घटना भयो, त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ,’ खरेलले भने।
यससँगै रास्वपा सचिवालय बैठकले यसमा यथाशिघ्र कारबाही गर्न पनि भनेको छ। रास्वपा प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध पार्टी भएको उनले बताए।
‘पत्रकार पक्राउको विषय बाहिर आउनासाथ हामीले सामाजिक सञ्जाल र लेटरहेडमार्फत सरकारको ध्यानाकर्षण गराएका थियौँ। यो घटना गलत थियो र यस्तो दोहोरिनु हुँदैन,’ खरेलले भने, ‘यो सरकारी निकायबाट भएको घटना हो, त्यसैले सचिवालय बैठकले यसको गहिरो अध्ययन र छानबिन गरी दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारलाई सचेत गराएको छ।’