अमेरिकी राष्ट्रपति ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या

0 Shares

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गरेका छन् ।

राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य तैनाथी, आप्रवासन नीति र अफगानिस्तान युद्धको दीर्घ प्रभावजस्ता राजनीतिक रुपमा संवेदनशील मुद्दाहरूलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ ।

ट्रम्पका अनुसार आक्रमण ‘दुष्ट, घृणित र राष्ट्रविरुद्धको’ थियो । ह्वाइट हाउसबाट मात्र दुई ब्लक टाढा गोली चलाएपछि पक्राउ गरिएका व्यक्ति ‘अफगानिस्तानबाट प्रवेश गरेका विदेशी’ भएको उनको दाबी थियो ।

सन्दिग्ध सन् २०२१ मा अफगानिस्तान पतनपछि अमेरिकी निकासी उडानमार्फत अमेरिका आएको उल्लेख गर्दै ट्रम्पले उक्त प्रक्रियाको कठोर पुनःमूल्यांकन आवश्यक रहेको बताए ।

मेट्रो स्टेसन नजिकै व्यस्त समयमै भएको यो आक्रमणले ट्रम्पद्वारा विभिन्न डेमोक्रेट–नियन्त्रित सहरमा तैनाथ गरिएका सैनिकहरूको भूमिकाबारे उठेका कानूनी चुनौती र आलोचनालाई झनै प्रबल बनाएको छ ।

यसै क्रममा ट्रम्पले ‘अवैध आप्रवासी उखेल्ने अभियान’ लाई फेरि तीव्र गर्ने संकेत दिएका छन् । उनको भनाइपछि युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेसले अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन प्रक्रियाहरू अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको छ ।

सम्बन्धित समाचार