प्रचण्ड-माधव नेतृत्वको पार्टीमा भीम रावल र अशोक राई आउने तयारी

0 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र पूर्वगृहमन्त्री तथा एमाले नेता भीम रावल नेतृत्वको मातृभूमि राष्ट्रिय अभियान पार्टी एकीकृत हुने भएको छ ।

प्रचण्ड-माधव एकता गरेर एउटै पार्टी बनाएपछि रावल र राईसमेत एकतामा आउने गरी तयारी गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्न जसपा संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन भएको एक नेताले जानकारी दिए ।

श्रेष्ठको नेतृत्वमा जसपाका उपाध्यक्ष रेनु यादव, रनध्वज लिम्बु, महासचिव मोहम्मद इस्तियाक राईलगायत नेता रहेका हुन । जसपा केन्द्रीय समिति बैठकले वार्ता टोली बनाएपछि एकतका लागि छलफल सुरु भएको हो ।

जसपा वार्ताले एकताको ठोस आधार बनाएपछि पार्टीको कार्यकारिणी समितिले अनमोदन गर्ने भएको हो । पार्टी एकताका विषयमा वार्ता टोलीसँगै पार्टी अध्यक्ष राई र प्रचण्ड-माधवले समेत छलफल जारी राखेको ती नेताले बताए ।

यस्तै, संयोजल रावलसँग एकता गर्न प्रचण्ड-माधवसहित प्रकाश ज्वाला, भानुभक्त जोशीले आइतबार साँझ छलफल गरेको एक नेताले बताए । रावल नेपाली कम्युनिष्ट पार्टीसँग एकतामा आउने करिब टुंगो लागेको नेताहरूले बताएका छ्न ।

प्रचण्ड-माधवसहित १० कम्युनिष्ट पार्टीसँगको एकता रावललाई समेत एकतामा ल्याउने तयारी गरिएको थियो । अन्तिममा रावल एकतामा आउन रोकिएका थिए ।

प्रचण्ड-माधवले राई र रावल नेतृत्वको पार्टीसहित धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका दलसँग एकता गर्न छलफल जारी राखेका छन् ।

यस्तै, एमालेभित्र असन्तुष्ट पक्ष पनि नेपाल कम्युनिष्ट पार्टीमा जान बाटो खुला बनाएको छ । एमालेमा अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायत नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा अाेलीविरूद्ध आवाज उठाउँदै आएका छन् ।

एमालेबाहेक कम्युनिष्ट पार्टीलाई जोडेर बलियो पार्टी बनाउन प्रचण्ड-माधवले निरन्तर छलफल जारी राखेका छन् । प्रचण्ड-माधवले गत कात्तिक १९ गते १० कम्युनिष्ट घटकसँग एकता गरेर एउटै पार्टी घोषणा गरेका थिए ।

सम्बन्धित समाचार