काठमाडौँ । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ जीवन बीमा सेवा सञ्चालन गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज (कार्तिक २ गते) देखि आफ्नो नवौं वर्षमा प्रवेश गरेको छ ।
सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता र सामाजिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यसहित स्थापित यस कम्पनीले आठ वर्षको सफल यात्रापछि नवौं वर्षको थालनी गरेको हो । कम्पनीले वि.सं. २०७४ साल कार्तिक २ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको थियो ।
आठ वर्षको प्रगति र सेवा विस्तार :
पछिल्लो सात वर्षको अवधिमा कम्पनीले उल्लेखनीय प्रगति गर्दै देशभर झण्डै डेढ सय शाखा तथा उपशाखा कार्यालयहरू मार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा यस कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी, १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँको जीवन बीमाकोष खडा गर्न सफल भएको छ । गत आवको असार मसान्तसम्म कम्पनीले ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ भने प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ ।
नवौं वर्षका लागि प्राथमिकता र कार्यक्रम:
नवौं वर्ष प्रवेशको अवसरमा सिटिजन लाइफले विगतका वर्षहरूझैँ संस्थागत सामाजिक उत्तरदायित्व र बीमा साक्षरतालाई प्राथमिकता दिँदै विशेष कार्यक्रमहरू गर्ने जनाएको छ ।
बीमा साक्षरता अभियान: कम्पनीले देशका विभिन्न सहरहरूमा सडक र्याली, घरदैलो कार्यक्रम, विद्यालय तथा समुदायस्तरका बीमा कक्षा सञ्चालन गरी जीवन बीमाको महत्वबारे जनचेतना फैलाउँदै आएको छ ।
रक्तदान कार्यक्रम: डेङ्गु, भाइरल रोग र रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै यसपटक पनि देशभरका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।
वातावरणीय सुरक्षा : प्राकृतिक विपद् र ग्लोबल वार्मिङविरुद्धको अभियानका रूपमा ‘गो ग्रीन – हरियाली हाम्रो जिम्मेवारी’ नारासहित वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सांस्कृतिक कार्यक्रम: वार्षिकोत्सवलाई ‘विविधता र समावेशीकरण’ शीर्षकमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी कर्मचारीबीच आत्मीयता र सांस्कृतिक ज्ञान सुदृढ पार्ने कम्पनीको तयारी छ ।
व्यवस्थापन र प्रतिबद्धता:
कम्पनीले आगामी वर्षहरूमा पनि सेवाको गुणस्तर, वित्तीय अनुशासन र सामाजिक दायित्वमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीको व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल र अध्यक्ष प्रदीप जंग पाण्डे सहितको सञ्चालक समिति कार्यरत रहेको छ ।
कम्पनीले यस अवसरमा दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वको शुभकामना दिँदै आफ्नो नवौं वर्षलाई ‘विश्वासको नयाँ दशकको शुरुवात’ का रूपमा स्वागत गरेको जनाएको छ ।